तपाईँ सुन्दै हुनुहुन्छः

तराई–मधेशमा अस्ताउदाे सूर्यलाई पूजा आराधना गरि अर्घ दिँदै

सप्तरी । भक्तजनहरूको आस्था रुपी छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदै छ।

तराई–मधेशका विभिन्न जिल्ला सहित देशैभरि धार्मिक विधिपूर्वक छ्ठपर्व मनाइएको  हो । कार्तिक शुक्ल चतुर्थी देखि सप्तमी सम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको साथ यो पर्व मङ्गलबार देखि शुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदी सहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोक कथन बमोजिम सोही समय देखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उहाँले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेला देखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको बुझिन्छ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्य माथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यकिरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ। सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचार समेत खोजिएको जानकारहरू बताउँछन् । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सराप द्वारा कुष्ठरोग बाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रता बाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्ब सहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । 

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्ने बाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने परिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button