तपाईँ सुन्दै हुनुहुन्छः

लोपोन्मुख अवस्थामा गुलियो फापर : संरक्षणमा छैन कसैको चासो

मुगु ।  पछिल्लो समय मुगुका किसानहरूले परम्परागत  गुलियो फापर  खेती  प्रति कम  महत्व दिँदा  मुगु बाट गुलियो फापर लोप हुने अवस्थामा  पुगेको छ । पहिलेको तुलनामा फापरखेतीको क्षेत्रफलमा उल्लेखनीय गिरावट आएको छ। मुगुको उच्च भूभागमा उत्पादन गरिँदै आएको प्रचलित फापर खेती अहिले क्रमशः घट्दै गएको हो ।

गुलियो फापर पोषणयुक्त अन्नबालीको रूपमा चिनिन्छ र मुगुका किसानहरूले यसलाई परम्परागत रूपमा लगाउँदै आएका थिए। तर, आधुनिक कृषि प्रणाली र नयाँ प्रविधिको विकाससँगै किसानहरू अब अन्य नगदे बालीतर्फ आकर्षित भएका छन्। गाउँका युवा जनशक्तिले विदेश जाने प्रचलन बढेको, बजारमा प्रतिस्पर्धा र फापरको तुलनामा अन्य बालीबाट छिटो आम्दानी हुने हुँदा किसानहरूले फापरखेती गर्न छोडेका छन्।

किसानहरूको अनुसार, फापरखेतीबाट राम्रो उत्पादन हुँदाहुँदै पनि यसको उचित मूल्य पाउन नसक्दा उनीहरूमा निराशा बढ्दै गएको छ। “फापर लगाएर महिनौँ कुर्‍यौँ, तर बेच्दा लागतसमेत उठाउन गाह्रो हुन्छ,” छायाँनाथ रारा नगरपालिका  वडा नं ७ टोप्लाका कृषक पर्बुजङ् शाहीले बताउनुभयो ।

यसरी परम्परागत खेती घट्दै जाँदा मुगुको संस्कार र पहिचानमा असर पर्ने चिन्ता स्थानीय समुदायमा रहेको छ । उनीहरूले सरकारसँग फापरखेती प्रवर्द्धन गर्न आवश्यक सहयोग, तालिम र बजार व्यवस्थापनको माग पनि गरेका छन् । बिशेषगरी गुलियो फापर  स्वास्थ्यका लागि अत्यन्तै लाभदायक मानिन्छ । गुलियो फापर सेवनले  दम , रूघा  खोकी, मुटुरोग निको पार्ने परम्परागत विश्वास हुँदा हुँदै पनि उचित संरक्षण र  उत्पादनको मूल्य भन्दा लागत बढी हुँदा  गुलियो फापर  उत्पादन प्रति चासो घटेको कृषकहरूको धारणा छ ।

यस  जिल्लाका उच्च स्थान, पिना,कोटिल्ना, मुन्दु, लिउडी, घट्टललेक, तलिलेक, रोबा, सोबा, टोप्ला , माथितुम  लगायतका  क्षेत्रहरूमा फापर खेतीको लागी उपयुक्त स्थान मानिन्छ हाल तिते फापर सामान्य रूपमा गरिँदै आए पनि मिठो फापर खेती हाल फाटफुट रूपमा गर्ने गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button