कार्यसम्पादनमा रेडियो नेपाल उत्कृष्ट
मन्त्रालय मातहतका सबै निकायलाई कानून सम्मत कार्यसम्पादन गर्न निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले परम्परागत कार्यशैली परिवर्तन नगरिकन विकास निर्माणले तीव्रता पाउन नसक्ने बताउनुभएको छ ।
मन्त्रालयको प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा मन्त्री गुरुङले मन्त्रालय मातहतका निकायलाई पारदर्शी, व्यवहारिक र कानून सम्मत सम्पादन गर्न निर्देशन दिनुभयो ।
सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पूरा गर्न विभिन्न मन्त्रालयबीच समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री गुरुङले कम्तीमा एक वर्षसम्म कर्मचारीको सरुवा गरिन नहुने बताउनुभयो ।
बैठकमा मन्त्रालयका सचिव राधिका अर्यालले सरकारले एक सय दिनमा गर्ने लक्ष्य लिएका सम्पूर्ण काम सम्पन्न गरिएको जानकारी गराउनुभयो ।
बैठकमा मन्त्रालयका योजना प्रमुख रामकृष्ण अर्यालले मन्त्रालय र अन्तर्गतका निकायले तीन महिनामा सम्पन्न गरेका कार्यप्रगति प्रस्तुत गर्नुभयो ।
यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका निकायमध्ये रेडियो नेपाल कार्यसम्पादनमा उत्कृष्ट घोषणा भएको छ ।
मन्त्रालयले कार्यसम्पादनका आधारमा अङ्क प्रदान गरी रेडियो नेपालसँगै मुद्रण विभाग, विज्ञापन बोर्ड र राष्ट्रिय समाचार समिति पनि कार्यसम्पादनमा उत्कृष्ट हुन पुगेको घोषणा गरेको हो । मन्त्रालय मातहत विभिन्न १९ वटा निकाय रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्