इलाममा अब नागरिकताको सिफारिस अनलाइनबाटै लिन सकिने
इलाम । इलामको दश स्थानीय तहमा इलाम नगरपालिका र सूर्योदय नगरपालिकाले नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरु गरेको छ ।
वडा कार्यालयमा आवश्यक कागजपत्र लिएर गएपछि अनलाइन मार्फत सिफारिस हुनेछ । केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआइएमएस) को माध्यमबाट अनलाइन सिफारिस सुरु भएको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनुभयो ।
अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्यको अन्त्य हुने विश्वास लिइएको छ । विद्युतीय व्यवस्थाले सबै प्रणालीलाई एकीकृत गर्न र दस्ताबेज कायम गर्न सहज हुने इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको भनाई छ । तत्काललाई नयाँ नागरिकताको मात्र सिफारिसका लागि यो सेवा सुचारु भएपनि आगामी दिनमा राष्ट्रिय परिचय पत्र तथा अन्य परिचयपत्र निर्माणमा पनि अनलाइन सेवा सुरु गर्ने तयारी रहेको छ ।
इलाममा यो सेवा लागू गर्ने देशको १७ औ जिल्ला रहेको छ । विगतबाट हातले लेखेको अनुसूची सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही पुग्ने गरेकोमा अब त्यो झन्झटबाट मुक्त हुनेछन् । यो सेवालाई प्रभावकारी बनाउनका लागि सूर्योदय, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाका वडा सचिवलाई तालिम समेत दिइएको छ । यो प्रणालीमा निवेदकको माग अनुसार विवरण प्रविष्ट गरेपछि सिस्टमबाटै सिफारिस तयार हुने र सिफारिस प्रिन्ट गरेर वडा अध्यक्षले सही गरेर छाप लगाएपछि सिस्टममा अपलोड हुनेछ । यो प्रविधिले समयको बचत, खर्चमा कमी र छिटो छरितो सेवाग्राहीले सेवा पाउने विश्वास लिइएको छ ।
प्रतिक्रिया राख्नुहोस्