‘माओवादी हिंसा’ शब्द संसदीय कि असंसदीय भन्ने विवादले प्रतिनिधि सभाकाे बैठक प्रभावित
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक दलहरुबीच सहमति हुन नसक्दा प्रभावित भएको छ ।
माओवादी केन्द्रले एमाले सांसद योगेश भट्टराईले बोलेको ‘माओवादी हिंसा’ शब्द संसद्को रेकर्डबाट हटाउन माग गर्दै संसद् अवरोध गरेपछि आज बिहान सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्नुभएको थियो ।
‘माओवादी हिंसा’ शब्द संसदीय कि असंसदीय भन्ने विवादले यही भदौ २६ गतेको प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको थियो ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सशस्त्र युद्धलाई अपमानित गर्ने गरी सत्तारुढ दल नेकपा एमालेका सांसद भट्टराईले ‘माओवादी हिंसा’ शब्द प्रयोग गरेको बताउँदै आएको छ ।
भदौ १२ गतेको बैठकमा एमाले सचिव भट्टराईले हिंसा शब्द प्रयोग गरे लगत्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्दे ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको थियो ।
बैठकमा सभामुख देवराज घिमिरेले नियमापत्तिका सन्दर्भमा अध्ययन गर्न संसद् सचिवालयलाई निर्देशन दिनुभएको थियो । त्यसअनुसार सभामुख घिमिरेले भदौ २६ गते एमाले सचिव भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नरहेको र संसद्को रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाउनुभएको थियो ।
त्यसपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सभामुखको निर्णयमै प्रश्न उठाएको छ । राजनीतिक आन्दोलनलाई हिंसाको संज्ञा दिने प्रयास भएको भनेर माओवादी केन्द्रको संसदीय दलको बैठकले हिंसा शब्द रेकर्डबाट नहटाएसम्म संसद् चल्न नदिने निर्णय गरेको छ ।
यस सम्बन्धमा आज बिहान सभामुख घिमिरेले बोलाउनुभएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठक बिना निष्कर्ष सकिएको थियो ।
छलफलमा सभामुख घिमिरेले आफूले संसद् सचिवालयको अध्ययनसहितको राय, संविधान, कानुन, अभ्यास समेतका आधारमा निर्णय लिएको भन्दै रुलिङ मानेर संसदमा अवरोध नगर्न आग्रह गर्नुभएको थियो ।
बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ‘माओवादी हिंसा’ असंसदीय शब्द रहेको र यसअनुसार नै सभामुखले निर्णय लिनुपर्ने अडान राख्नुभएको थियो ।
दुवै पक्षका आ–आफ्नो अडानका कारण छलफल बिना निष्कर्ष टुङ्गिएको थियो ।
यस्तै, सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल पश्चात् माओवादी केन्द्रले अनौपचारिक छलफल गरेर पार्टीले उठाएको विषय सम्बोधन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको छ ।
प्रतिनिधि सभाको आजका लागि तय भएको बैठक दलहरुबीच सहमति हुन नसकेपछि भोलि दिउसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रिया राख्नुहोस्