अन्य राजनीतिक दललाई कमजोर बनाउने हाम्रो नीति होइन : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरू राजनीतिक दललाई कमजोर बनाउने नीतिअनुसार वर्तमान सरकार निर्माण नभएको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उहाँले दुई ठूला राजनीतिक दल मिलेपछि अरू पार्टीलाई सिद्ध्याउने र कमजोर पार्ने नीति कांग्रेस र एमालेको नभएको जिकिर गर्नुभयो ।
सभापति देउवाले सबैलाई मिलाएर अघि बढाउन आफूहरूले चाहेको स्पष्ट पार्नुहुँदै कांग्रेस र एमालेको सरकार बनेपछि देशभर उत्साह पैदा भएको बताउनुभयो ।
उहाँले पछिल्लो समय पार्टी परित्याग गरेकाहरू पनि पार्टीमा पुनः फर्किने क्रम जारी रहेको भन्दै अझ बलियो पार्टी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सभापति देउवाले आफूले अब सबै कुराबाट संन्यास लिने बेला आइसकेको भन्दै पार्टी, देशको चिन्ता अब नयाँ बन्ने नेताहरूले लिनुपर्ने बताउनुभयो ।
सभापति देउवाले भोलिका दिनहरू चुनौतीपूर्ण र महत्त्वपूर्ण अवसरका रुपमा रहेको भन्नुहुँदै दुवैलाई मिलाएर अघि बढ्न आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्