तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ पुलको निर्माणको मागसहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत धनुषा तथा सिरहालाई जोड्ने कमला नदिमा नयाँ पुलको निर्माणको माग गर्दै मुख्यमन्त्री सतिश कुमार सिंहलाई आज ज्ञापनपत्र बुझाइएको छ ।

सिरहा जिल्लाबाट मोटरसाइकल जुलुससहित आएका सिरहा तथा धनुषाका स्थानीयबासीहरुले जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा भेला भएर पैदल मार्च गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

सङ्घर्ष समितिका संयोजक इन्जिनियर प्रवीण कुमार यादवको नेतृत्वमा आएका व्यक्तिहरूले मुख्यमन्त्रीलाई ज्ञापनपज्ञ दिँदै ७ दिनभित्रमा कमला नदिमा भासिएको कमला पुलको छेउमा नयाँ पुलको निर्माणको प्रक्रिया अगाडी बढाउनका लागि माग गर्नुभयो ।

पहिलाको पुल प्राविधिक रुपमा नै फल्ट भएकाले नयाँ पुलको निर्माण प्रक्रिया अगाडी नबढाए ७ दिनपछि जनकपुरधाममा नै आएर आमरण अनसनमा बस्ने सङ्घर्ष समितिका संयोजक यादवले जानकारी दिनुभयो ।

ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री सतिश कुमार सिंहले कमला नदिमा भासिएको पुल हुलाकी राजमार्गमा पर्ने भएकाले प्रदेश सरकार मातहत नभएकाले यस विषयमा प्रधानमन्त्री तथा संघीय भौतिक तथा पूर्वाधार यातायातमन्त्रीसंग कुरा गर्ने बताउनुभयो ।

उहाँले पुल आफूहरूको अधिनमा नरहेको बताउँदै यसमा काम गर्नका लागि संघ सरकारको अनुमति प्राप्त हुन जरुरी रहेको र यसका लागि आफूले आजै देखि नै प्रक्रिया अगाडी बढाएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button