तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाइन्छ : मन्त्री पौडेल

नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभएको छ ।

नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सबैलाई समेट्ने गरी यसको दायरा फराकिलो बनाउने काम भइरहेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको सुधारका लागि केही नयाँ कामहरू गर्ने तयारी भइरहेको जानकारी दिँदै छिट्टै ती कार्यक्रमहरू घोषणा गरिने समेत बताउनुभयो । आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने योजना पनि मन्त्री पौडेलले सुनाउनुभयो ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा उहाँले स्वास्थ्यमा नेपाली नागरिकको सहज पहुँच स्थापित गर्ने कार्य योजनाका साथ सरकार लाग्ने बताउनुभयो । सरकारी र निजी अस्पताललाई व्यवस्थित र नागरिकमैत्री बनाउन तथा अस्पतालहरूमा बिरामीको लाइन हटाउने विषयमा आफू सूक्ष्म अध्ययनमा रहेको मन्त्री पौडेलको भनाई छ ।

पार्टी सभापति गौडेलले गरिब र निमुखा जनताको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने गरी नयाँ ढंगले काम गर्न मन्त्री पौडेले सक्षम हुने विश्वास ब्यक्त गर्नुभयो । भेरी अस्पतालको स्तर वृद्धि, भौतिक पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका लागि मन्त्री पौडेललाई आग्रह गर्दै उहाँले सुशील कोइराला क्यान्सर अस्पतालमा अहिलेसम्म दरबन्दी नै नभएकोप्रति ध्यानाकर्षण समेत गराउनुभयो । गौडेलले नेपाली जनताले काँग्रेसलाई क्रेडिट दिने गरी स्वास्थ्य क्षेत्रमा नयाँ काम हुने विश्वास समेत ब्यक्त गर्नुभयो । उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button