तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले बगाएका बसको अवस्था अझै अज्ञात, पानीको बहाब र गहिराइले खोजीमा कठिनाइ

मौसम प्रतिकुलताको कारण बेलुका साँढे ६ बजेबाट खोजीकार्य स्थगित

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी बेपत्ता भएका दुवै बसको अवस्था अझै अज्ञात रहेको छ ।

त्रिशूली नदीको उच्च बहाब र गहिराइका कारण बस खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । आज मौसम प्रतिकुलताको कारण बेलुका साँढे ६ बजेबाट खोजीकार्य स्थगित गरिएको छ ।

बेपत्ता बसको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली र गोताखोरको टोली समेत परिचालन गरिएको छ । पाँच वटा मोटर बोटसहित घटनास्थलबाट पाँच किलोमिटरसम्म खोजी कार्य गरिएको प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार भोलि बिहान पुन खोजी कार्य जारी रहनेछ । हालसम्म बसको टिकटको आधारमा ५४ जनाको सङ्ख्यामा यात्रु बेपत्ता भएको उहाँले जानकारी दिनुभयो । दुवै बसको यात्रु सङ्ख्या र उनीहरूको आफन्तको आधारमा ती मध्ये ८ जना यात्रु भारतीय रहेको उहाँले बताउनुभयो ।

सिमलतालको पहिरोमा परी वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौर जाँदै गरेको गणपति लेखिएको वाग्मती प्रदेश ०३–०११ ख २४९५ बेपत्ता भएको थियो ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलको कमान्डमा अहिले ७० जनाको टोली खोजी तथा उद्धारमा खटिएको छ ।

पानीको चाप अत्यधिक र धमिलो भएकाले नदीको गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था छैन । त्यस कारणले चुम्बक फालेर बसको खोजी सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी हुक लगाएर पनि खोजी भइरहेको छ । लामा–लामा बाँसका भाटा तथा रडको सहायताले पनि खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button