तपाईँ सुन्दै हुनुहुन्छः

झापाका ७६ घर डुबानमा

झापा । झापाका नदी तथा खोलामा आएको बाढीका कारण ७६ घर डुबानमा परेका छन् ।

सोमबार रातिको अविरल वर्षाका कारण कनकाई माई खोलामा आएको बाढीका कारण झापा गाउँपालिकाका ५१ घर डुबानमा परेका छन् ।

गौरीगञ्ज र झापा गाउँपालिका–१ सिमाना टप्पुस्थित माई खोलामा आज बिहान आएको बाढीले झापा–२ सुगाबथान बस्तीका बासिन्दा प्रभावित भएका छन् । बस्तीमा अन्दाजी अढाई फिटसम्म पानी पसेको प्रहरीले जनाएको छ ।

त्यस्तै, झापा–२ को कुवाडीगाउँमा पनि एक फिटसम्म पानी जमेको थियो । त्यहाँका परिवार विस्थापित नभए पनि सहयोगका लागि सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

त्यस्तै, रतुवा खोलाको बाढीले गौरादहका २५ घर डुबानमा परेका छन् । गौरादह नगरपालिका–६ स्थित रतुवा खोलामा पानीको बहाव बढेर टंगुवा टोलमा रहेको ताजपुरीया बस्तीमा पस्दा २५ घर डुबानमा परेका हुन् ।

घरमा पानी पसेर क्षति पुर्याएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटाइएको थियो । त्यहाँका मानिस विस्थापित हुने अवस्था तत्काल नरहेको र खोलामा पानीको बहाव घट्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो ।

यसैगरी, मेची नदीमा आएको बाढीले हात्ती छेक्न लगाएको तीन वटा पिलरसहित फेन्सिङ तार बगाएको छ । बाढीले मेचीनगर नगरपालिका–१ र ४ को सिमाना प्रसाद गौडाका तटीय क्षेत्र कटान गर्दा पिलरसहित फेन्सिङ तारसमेत बगाउँदा अन्दाजी एक लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button