मुगुमा चार दिनदेखि हवाई उडान अवरुद्ध
मुगु । हिमाली जिल्लाहरू मुगु, जुम्ला र हुम्लामा वर्षाको कारण चार दिनदेखि हवाई सेवा अवरुद्ध हुन पुगेको छ । एक साताअघिदेखि निरन्तर वर्षा भइरहेको मुगु , जुम्ला र हुम्लामा उडान अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन् ।
तीन दिनदेखि हवाईजहाजको प्रतीक्षामा रहनुभएका पत्रकार हरीकृष्ण ऐडी जहाज नआउने बुझे पछि जोखिम मोलेर भएपनि गाडीमा काठमाडौँ जानु परेको बताउनु हुन्छ ।
निरन्तरको वर्षाले चार दिनदेखि नेपालगन्जबाट हवाई उडान नभएको रारा नागरिक उड्डयन प्राधिकरणका प्रमुख श्रीकृष्ण रिजालले बताउनु भयो । उहाँका अनुसार उडान बन्द भएपछि मुगुदेखि नेपालगन्ज, सुर्खेत, काठमाडौँतर्फ जाने यात्रु र नेपालगन्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिनु पर्ने अवस्था उत्पन्न भएको छ । शनिवार पनि मौसम बिग्रेका कारण उडान हुने सम्भावना न्यून रहेको उहाँले बताउनुभयो । मौसम सफा नभएसम्म हवाई उडान हुन नसक्ने रिजालले जानकारी दिनुभयो ।
हवाई सेवा अवरुद्ध भएपछि यात्रुहरू जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य भएका छन् । हुम्लामा पनि वर्षाले तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ । खराब मौसमका कारण बुधबारदेखि हवाई सेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी गराउनुभयाे ।
प्रतिक्रिया राख्नुहोस्