गर्मी छल्न शहर छाडेर पहाडी गाउँ पस्दै अभिभावक
चितवन । भरतपुर–१० बस्दै आउनु भएकी अम्बिका बन्जाडेले विद्यालय बन्द भएसँगै आफ्ना बच्चा भुलाउन गाउँ जाने तयारी गर्नुभएको छ । चितवनको माडी स्थायी घर भएकी बन्जाडे अत्यधिक गर्मीका कारण यो साता विद्यालय बन्द भएपछि बच्चा भुलाउन र गाउँ घरको रहनसहनमा घुलमिल बनाउन पहाडी गाउँ जाने तयारी गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “गर्मीले बच्चाहरू आत्तिएका छन् । माडी पनि गर्मी नै ठाउँ हो । गर्मी कम हुने भएकाले मिले सम्म चितवनकै पहाडी गाउँ घुम्ने योजनामा छौ ।” आँफुले काम गर्दै आएको संस्थामा बिदाका लागि प्रक्रिया सुरु गरेको बताउँदै उहाँले थप्नुभयो “केही दिन बिदा मिले बच्चाहरूलाई पहाडी गाउँ घुमाउने योजना छ ।” गर्मीका कारण बच्चाहरूलाई कोठामा गुम्स्याएर राख्दा बिरामी हुन्छ न कि भन्ने चिन्ता लागेको उहाँले बताउनुभयो ।
विद्यालय बन्द भएपछि भरतपुर–११ निवासी सनद अधिकारी आफ्ना बच्चाहरूलाई घरमा कसरी राख्ने भन्ने अन्योलमा हुनुहुन्छ । श्रीमान् श्रीमती दुवै जागिरे हुँदा बालबालिकालाई घरमा समय दिनको लागि समय व्यवस्थापन गर्न चुनौती थपिएको अधिकारी बताउनु हुन्छ । उहाँले भन्नुभयो, “इच्छा कामनामा गर्मी हुँदैन । धेरै साथीहरूले इच्छाकामनाका पहाडी क्षेत्रहरू मायाँटार, उपरदाङगढी, सिरानडांँडा लगायतका क्षेत्र घुम्ने योजना बनाएका छन् , भएका छन् । त्यही योजनामा आफू पनि सहभागी हुने इच्छा छ ।”
श्रीमान् श्रीमती दुवै शिक्षण पेसामा आबद्ध हुनु भएका भरतपुरका लेखनाथ देवकोटा र शारदा देवकोटा विद्यालय बन्द भएसँगै आफ्नो जन्मथलो गोरखा लाग्दै हुनुहुन्छ । लेखनाथले भन्नुभयो “गोरखा यहाँ भन्दा शीतल छ । पारिवारिक भेटघाट पनि हुन्छ । त्यसैले गोरखा जाने योजना लागेको छु ।” गतवर्षको तुलनामा यो वर्ष अत्यधिक गर्मी भएको उहाँले बताउनुभयो । साथमा भएको कक्षा ६ मा अध्ययनरत छोरो लिएर गाउँ जान लाग्नुभएका देवकोटाले थप्नुभयो “छोरोलाई गाउँ चिनाउने उत्तम समय यही भएको हुँदा लिएर गाउँ जान लागेको हुँ ।”
भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले अभिभावक र जनप्रतिनिधिहरूको समेत गुनासो र सुझाव आएपछि विद्यालयहरूमा बिदा दिइएको बताउनुभयो । बिदाको समयमा रचनात्मक तरिकाले बालबालिकाहरूलाई घरमा नै राख्न र जोखिम हुने स्थानहरूमा पौडी लगायतको क्रियाकलाप गराउँदा अभिभावक अलि चनाखो हुनुपर्ने बताउनुभयो ।
शिक्षाविद् रमाकान्त सापकोटाले बालबालिकाहरूले अधिकांश समय घरमा नै बिताउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“विद्यालयमा त ५/६ घण्टासम्म मात्र बिताउने हो बाँकी समय घरमै बिताउने हुँदा बिदा भयो भनेर अभिभावकहरूले चिन्ता लिनुहुँदैन । ”
बिदाको समयमा घरमा नै विभिन्न अतिरिक्त क्रियाकलाप गरेर समय व्यतीत गराउन अभिभावकले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले थप्नुभयो, “चितवनको सन्दर्भमा कुरा गर्दा विभिन्न स्मार्ट मार्टहरू रहेका छन् । त्यहाँ घुम्न लैजाने, पौडी लगायतका क्रियाकलापका सहभागी गराउने गर्दा बालबालिकाको मनोसामाजिक स्तर पनि बढ्छ ।” यतिबेला तराइमा गर्मी बढी भएको हुँदा सम्भव हुने अभिभावकहरूले चिसो पहाडी स्थानहरू तथा पुर्ख्यौली घरहरूमा घुम्न जान पनि उपयुक्त हुने उहाँले बताउनुभयो ।
चितवनमा भरतपुर महानगरपालिकासँगै अन्य पालिकाहरूले पनि यो साता विद्यालय बन्द गरेका छन् । केही पालिकाहरूले गर्मीको समयमा बिहानी कक्षा सञ्चालन गरेका छन् । एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा भने गर्मी बिदा दिइएको छैन । चिसो हावापानी रहेको सो स्थानमा आन्तरिक पर्यटकहरू जाने क्रम बढ्दो छ । इच्छाकामनाको उपरदाङ गढी, मायाँटार लगायतका स्थानहरूमा यति बेला आन्तरिक पर्यटकहरू जाने क्रम बढ्दो छ ।
प्रतिक्रिया राख्नुहोस्