तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा खपी नसक्नु गर्मी, विद्यार्थीहरू बेहोस हुन थालेपछि विद्यालय बन्द 

दाङ । पछिल्लो समय दाङमा अत्यधिक मात्रामा गर्मी बढेको छ । जिल्लामा मंगलबार दोस्रो पटक ४०.२ डिग्री सेल्सियस तापक्रम पुगेको छ । यसअघि जेठ १७ गते ४०.२ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । 

दाङमा पनि १२ बर्ष अघिको रेकर्ड नजिक पुगेको जल तथा मौसम फिल्ड कार्यालय घोराहीकी प्रमुख प्रिया रिजालले जानकारी दिनुभयो । १२ बर्षअघि दाङमा ४० डिग्री सेल्सियस तापक्रमलाई पार गरेको थियो । २०६९ जेठ ३२ गते भने ४१ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । तर त्यस यता खासै सो तापक्रम भन्दा कम मापन गरिएकोमा अहिले १२ बर्ष अघिको रेकर्ड नजिक पुगेको हो । यो बर्ष जेठ १७ र २९ गते तापक्रम ४०.२ कायम रहेको छ । गर्मीले गर्दा जिल्लामा जनजीवन प्रभावित बनेको छ ।

जल तथा मौसम फिल्ड कार्यालय दाङका अनुसार आजको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस मापन गरिएको छ । दाङको न्यूनतम तापक्रम २६ डिग्री सेल्सियस छ । जिल्लामा घोराहीलाई केन्द्र मानेर तापक्रम मापन हुने गरेको छ । गर्मीकै कारण दाङको जनजीवन प्रभावित बन्न थालेको छ । 

दोस्रो पटक विद्यालय बन्द हुन थाले

जिल्लामा अत्यधिक गर्मी बढ्न थालेपछि पुनः विद्यालयहरू बन्द हुन थालेका छन् । केही समय अघि विद्यालय बन्द गरिए पनि बिचमा तापक्रम न्युन भएपछि विभिन्न पालिकाहरूले विद्यालय सञ्चालन गरेका थिए ।  गर्मीका कारण विद्यालय गएका विद्यार्थीहरू बेहोस समेत हुने गरेका छन् । स्थानीय सरकारले सूचना प्रकाशन गरेर विद्यालय बन्द गर्न थालेका हुन । 

दाङको तुलसीपुरमा रहेको अमर मा.वि. उरहरीमा बेहोस भएका विद्यार्थीहरूको अवस्था ।  

गर्मी बढेपछि घोराही र तुलसीपुर उपमहानगरपालिकाले बिहीबार र शुक्रवार विद्यालय बन्द गर्ने जनाएका छन् । यस्तै शान्तिनगर र बबई गाउँ पालिकाले पनि जेठ ३२ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button