विपद् पूर्वतयारी र प्रतिकार्यका लागि साझा कार्यनीति तय गर्न अन्तर प्रदेश छलफल

नेपालगञ्ज । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा विपद पूर्वतयारी र प्रतिकार्यका लागि साझा कार्यनीति तय गर्न छलफल थालिएको छ ।
नेपालगञ्जमा आजदेखि सुरु भएको तीन दिने अन्तर प्रादेशिक कृत्रिम घटना अभ्यास कार्यक्रममा विपद्का क्षेत्रमा भइरहेका अन्तर प्रादेशिक अनुभव आदानप्रदान, सिकाई हासिल र साझा कार्यनीति तय गरिनेछ ।
लुम्बिनी, कर्णाली र सदुरपश्चिमका आन्तरिक तथा कानुन मन्त्रालयको आयोजना तथा सहरी विपद् तथा पूर्व तयारी परियोजना सुपरसँगको सहकार्यमा सुरु भएको तीन दिने कार्यक्रमको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले उद्घाटन गर्नुभयो ।
मन्त्रालयका सचिव लालबाबु कवारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले सबैतिरको साझा प्रयासले मात्र विपद् जोखिम न्यूनीकरण गर्न सकिनेमा जोड दिनुभयो ।
कार्यक्रममा आन्तरिक मामिला मन्त्री पन्थीले विपद्का नयाँ नयाँ स्वरूपहरू देखा परिरहेका बेला साझा नीति बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । विपद् पहिचान र पूर्व तयारी तथा प्रतिकार्यका लागि साझा निष्कर्षमा पुग्नुपर्नेमा जोड दिँदै उहाँले प्रदेश प्रदेशका बीचमा भ्रातृत्वको विकास गर्नुपर्ने बताउनुभयो ।
सुदूरपश्चिम सरकारका मुख्य सचिव हरि लम्सालले सबैको साझा प्रयासबाट मात्रै विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सकिने उल्लेख गर्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सुपरसँगको सहकार्यमा नगरमा विपद् पूर्व तयारी र प्रतिकार्यका लागि थुप्रै कामहरू भएको चर्चा गर्दै पश्चिम क्षेत्रमा विपद्जन्य घटना हुँदा नेपालगञ्ज एलर्ट हुनुपर्ने अवस्था रहेको बताउनुभयो ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले समुदायलाई परिचालन गर्ने गरी विपद् पूर्व तयारी र प्रतिकार्यको योजना बनाउनुपर्ने जोड दिँदै आपसी समन्वयले विपद विरुद्ध लड्न सकिने बताउनुभयो ।
युएनडिपीकी प्रतिनिधि बैजन्ती गिरी सिंहले विपद्लाई साझा समस्याका रुपमा स्वीकार गरी साझा रणनीतिका साथ कार्यान्वयन तहमा जानुपर्ने उल्लेख गर्नुभयो ।
उद्घाटन कार्यक्रममा अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशी, जयपृथ्वी नगरपालिका बझाङका प्रमुख चेतराज बजाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव सुशील वैद्य, कर्णालीका निमित्त सचिव निधिराज न्यौपाने, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशकी विपद शाखा प्रमुख मञ्जुकुमारी पोख्रेल लगायतको उपस्थिति थियो ।
कार्यक्रममा विपद् सम्बन्धि कृत्रिम घटना अभ्यास गरिनेछ । उक्त कार्यक्रममा प्रदेश विपद प्रतिकार्य कार्य ढाँचाका बारेमा विज्ञ शङ्कर कोइराला, अर्का विज्ञ सुनिल सन शाक्यले व्यवसाय तथा सेवा निरन्तरता योजना र विपदमा स्वयंसेवक परिचालनका बारेमा विज्ञ कृष्ण काफ्लेले छुट्टाछुट्टै प्रस्तुतीकरण गर्नुभएको आपतकालीन कार्यसञ्चालन केन्द्र नेपालगञ्जका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्