तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा गर्मीको प्रभाव : चार स्थानीय तहका विद्यालय बन्द

दाङ । दाङमा अत्यधिक गर्मी भएपछि जिल्लाका स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन् ।

गर्मीले विद्यार्थीको स्वास्थ्यमा असर पर्ने अवस्था सिर्जना हुन थालेपछि स्थानीय तहले सूचना प्रकाशन गरेर विद्यालय बन्द थालेका हुन् ।

गर्मी बढ्न थालेपछि जिल्लाका तुलसीपुर उपमहानगरपालिकाले ५ दिन, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकाले दुई दिन विद्यालय बन्द गरेका छन् । यस्तै बबई गाउँपालिकाले अर्को सूचना प्रकाशन नगर्दासम्म विद्यालय बन्द हुने सूचना प्रकाशन गरेको छ ।

जिल्लाका घोराही उपमहानगरपालिका, लमही नगरपालिका, दंगीशरण र शान्तिनगर गाउँपालिकाले पनि गर्मी बिदा गर्ने तयारी गरेको जनाएका छन् ।

जिल्लाको एक मात्र पहाडी क्षेत्रका रुपमा रहेको बंगलाचुली गाउँपालिकाले भने बिदा दिएको छैन । उक्त विद्यालयले गत बर्ष पनि गर्मी बिदा दिएको थिएन ।

बिद्यार्थीहरु विद्यालयमा बेहोस हुने, टाउको दुख्ने जस्ता समस्याले ग्रसित भएपछि स्थानीयको मागलाई ध्यानमा राखेर स्थानीय तहले बिदा दिएका हुन् । विद्यार्थीमा शारीरिक समस्या आउन थालेपछि विद्यालय बन्द भएका हुन् । सबै स्थानीय तहले बर्षे बिदा कट्टी हुने गरी विद्यालयलाई बिदा दिएको जनाएका छन् ।

जल तथा मौसम फिल्ड कार्यालय घोराहीले दाङमा जेठ १६ गतेको तापक्रम ३९ दशमलव ५ डिग्री मापन भएको जनाएको छ ।

तापक्रम अझै बढ्ने मौसम फिल्ड कार्यालय घोराहीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button