तपाईँ सुन्दै हुनुहुन्छः

विभाजित सांसदहरूलाई पार्टीमा फर्किन जनता समाजवादी पार्टी (जसपा) नेपालको आह्वान

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन गरेका नेता तथा सांसदहरूलाई मूल पार्टीमा फर्किन आग्रह गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज आह्वान पत्र जारी गरी पूर्ववत् पार्टीमा फर्किन विभाजित सांसदहरूलाई आग्रह गर्नुभएको हो । 

आह्वानपत्रमा भनिएको छ, “पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै समाजवादी आन्दोलन, पहिचान, सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रलगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमवश फरक पार्टीमा जानुभएका साथीहरूलाई गलत बाटो छाडेर मूलधारको पार्टीमा फर्किन हुन हार्दिक आह्वान गर्दछौँ ।” 

निर्वाचन आयोगले गत वैशाख २४ गते अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई दर्ता गर्ने निर्णय गरेको थियो । सो पार्टीमा राईसँगै सङ्घीय सांसदहरू वीरेन्द्र महतो, प्रदीप यादव, सुशीला श्रेष्ठ, हसिना खातुन, रञ्जु ठाकुर र नवलकिशोर साह सुडी गरी सात जना रहेका छन् । 

जसपा अध्यक्ष यादवले पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै जनता समाजवादी पार्टीलाई नयाँ दलका रूपमा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश गरिसकेको छ भने यही जेठ ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button