तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको विकासमा रसियाको ठूलो सहयोग छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रसियाको ठूलो सहयोग रहेको बताउनुभएको छ ।

पूर्वशोभियत सङ्घ र स्वतन्त्र राज्यहरूको राष्ट्र मण्डलमा अध्ययन गरेका नेपालीको अल्मुनाई एसोसिएसन मित्रकुञ्जको ५७औँ वार्षिकोत्सव तथा एसियाली राष्ट्रहरूको छैटौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले नेपालको आर्थिक विकासमा रसियाको सधैँ साथ र सहयोग रहँदै आएको बताउनुभएको हो ।

“नेपालको आर्थिक विकास, शिक्षा, विज्ञान, प्रविधि र पूर्वाधारको क्षेत्रमा रसियाको महत्वपूर्ण साथ र सहयोग रहँदै आएको छ, यो मुलुकका लागि गर्वको कुरा हो,” उहाँले भन्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र रसियाबिच पुरानो सम्बन्ध रहेकाले यसलाई झन् घनिष्ठ बनाउनका लागि यस्ता अल्मुनाईले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

परराष्ट्रमन्त्री समेत रहनुभएका श्रेष्ठले रसिया र युक्रेनबिचको युद्धलाई वार्ता र संवादद्वारा समाधान गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले रसियाली मुलुकमा सिकेको सीपलाई नेपालको विकासमा लगाउन सबैलाई आग्रह समेत गर्नुभयो ।

नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई निविकोभले रसिया र नेपालबीचको सम्बन्धलाई मजबुद बनाउनका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “रसिया र नेपालको मित्रतालाई मित्रकुञ्जले अगाडि बढाएको छ,” उहाँले भन्नुभयो ।

मित्रकुञ्जका संस्थापक अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता नीलाम्बर आचार्यले अल्मुनाईले दुई देशबीचको सांस्कृतिक आदानप्रदान साथै दुई देशबीचको सम्बन्धलाई पुलको काम गरेको बताउनुभयो ।

नेपालबाट पूर्वशोभियतसङ्घअन्तर्गतका विभिन्न देशमा गएर अध्ययन गरेका विद्यार्थीहरूको साझा संस्थाका रुपमा सन् १९६७ देखि मित्र कुञ्जलाई अगाडि बढाउँदै आइएको मित्रकुञ्जका अध्यक्ष महेशप्रसाद पाण्डेले जानकारी दिनुभयो । मित्र कुञ्जमा हाल एक हजार दुई सय सदस्य आबद्ध रहे पनि नेपालबाट रसिया र पूर्वशोभियतसङ्घ अन्तर्गत गएर पढ्ने विद्यार्थी भने सात हजारभन्दा बढी रहेको अध्यक्ष पाण्डेको भनाइ छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा रुसबाट नौ, पाकिस्तानबाट एक, मङ्गोलियाबाट चार, भारतबाट एक, चीनबाट सात, बङ्गलादेशबाट ३२, नेपालबाट एक सय ५०, भेनिनबाट एकजना प्रतिनिधिको सहभागिता रहेको मित्रकुञ्जका उपाध्यक्ष केशवराज विष्टले जानकारी दिनुभयो ।

मित्र कुञ्ज सम्मेलनका हस्पिटालिटी प्रमुख किशोर चापागाईँले नेपालको विकास र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा मित्रकुञ्जले काम गर्दै आएको बताउनुभयो । सो अवसरमा मित्र कुञ्जबाट प्रकाशित स्मारिका समेत विमोचन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button