सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नाउपाका चौधरीद्वारा दाबी पेश

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले दाबी पेश गर्नु भएको छ ।
प्रदेश प्रमुख नजिर मियाँ समक्ष नाउका प्रदेश सभा सदस्य चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको हो । चौधरीले नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा आज मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । चौधरीलाई काँग्रेस १८, एकीकृत समाजवादी ४, नागरिक उन्मुक्तिका ६ जना प्रदेश सभा सदस्यको समर्थन रहेको बताइएको छ ।
प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई वैशाख २ गते बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नु भएको थियो ।
नयाँ सत्ता समीकरणसँगै नाउपा भित्र चरम विवाद रहेको छ । यहाँ पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ निकट २ जना र संरक्षक रेशम चौधरी निकट ४ जना प्रदेश सभा सदस्य रहेका छन् । मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरी रेशम पक्षधर हुन् ।
५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ सरकार गठनका लागि २७ जना आवश्यक पर्छ । हाल नाउका इन्दिरा गिरी पदमुक्त रहेकी छन् भने रिक्त अर्को पदमा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । यहाँ काँग्रेस १८, एमाले १०, माओवादी केन्द्र ११, नाउपा ६, एस ४, राप्रपा १ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्