तनहुँमा आठ वटा सिँचाइ योजना सम्पन्न
तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा आठ वटा सिँचाइ योजना सम्पन्न गरेको छ ।
चालु आवको हालसम्म पाँच सिँचाइ र तीनवटा तटबन्धनका योजना सम्पन्न गरेको कार्यालयले जनाएको छ । शुक्लागण्डकी–६ स्थित ज्याम्दी खोलामा करिब दुई सय तेत्तिस मिटर लामो सिँचाइ योजना सम्पन्न भएको छ ।
उक्त योजनामार्फत पन्ध्र हेक्टर क्षेत्रफल सिँचाइ सुविधा पुग्दा तिस घरधुरी लाभान्वित भएको सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर विनोद केसीले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश सरकारको रु बाह्र लाखको लागतमा उक्त योजना सम्पन्न भएको हो ।
जिल्लाको घिरिङ गाउँपालिका–३ स्थित फडुवा छबिसेमा दुईसय पैँतालिस मिटर लामो सिँचाइ कुलो निर्माण पश्चात् पचास घरधुरी लाभान्वित भएको केसीले बताउनुभयो । बन्दीपुर–१ मा देवीखोलामा खहरे सिँचाइ योजना सम्पन्न गरिएको छ ।
स्थानीय देवीखोलाबाट एक हजार आठ सय मिटर लामो पाइपलाइनबाट पानी ल्याएर बीस वटा धारा निर्माण गरिएको उहाँको भनाइ छ । कार्यालयका इन्जिनियर पुष्पराज श्रेष्ठका अनुसार चालु आवमा दुई ट्याङ्की र साठी वटा धारा निर्माण गर्नुपर्नेमा बजेट अभावका कारण एक ट्याङ्की र बिस धारा मात्रै निर्माण गरिएको छ ।
मगर समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा पचासी घरधुरी लाभान्वित हुने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्