पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिभल शुरु

पोखरा । पोखराको पर्यटकीय गाउँ काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिभल शुरु भएको छ । काहूँमा तीन दिनसम्म पर्यटकलाई होमस्टेमा राखेर आवासीय सुविधा सहित महोत्सवको आयोजना गरिएको स्पेक्स फोर्टिनका महेश्वरसिंह भण्डारीले बताउनु भयो ।
पोखरा महानगरपालिका वडा नं. ११ स्थित काहुँडाँडामा शुक्रबार देखि सुरु भएको योग फेस्टिभल तीन दिनसम्म चल्ने भएको छ । योग कनेक्सनको आयोजनामा भएको महोत्सवको इभेन्ट म्यानेजमेन्ट प्रचार नेपाल र स्पेक्स फोर्टिनले गरेको हो ।
नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद् र पोखरा वडा नं. ११ को सहयोगमा भएको दोस्रो संस्करणको महोत्सव पनि पहिलो संस्करण जस्तै सफल रुपमा सम्पन्न हुने योग कनेक्सनका राघबको विश्वास छ । शारीरिक र मानसिक स्वास्थ्यका लागि हितकारी योगको आवश्यकता ठानेर नै प्रकृतिसँगै योगलाई जोडेको आयोजकको दाबी छ ।

योग फेस्टिभल मार्फत पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । पोखराका लागि योग फेस्टिभल पनि महत्वपूर्ण कार्यक्रम भएको भण्डारीले बताउनु भयो । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिरहँदा यस्ता कार्यक्रमले समेत टेवा पुग्ने विश्वास गरिएको छ । विदेशीले आयोजना गरेको यस इभेन्टको व्यवस्थापन गरेकाले यस्ता कार्यक्रमलाई सहयोग गर्नु सबैको दायित्व रहेको उहाँले बताउनु भयो ।
फेस्टिभलमा योगा आसन (हठ, विन्यास, क्रिया), प्राणायम र मेडिटेसन, हवन, साउण्ड बाथ एक्सटेटिक डान्स, कीर्तन सिङ्गिङ सर्कल, काकाओ सेरेमोनी, इनर चाइल्ड हिलिङ, योग निद्रा, लाइभ म्युजिक, ह्युमन मण्डला वर्कशव, नादा योगा, फायर शोल गायकका कार्यक्रम रहेको प्रचार नेपालका आशिष पुरीले बताउनु भयो ।
फेस्टिभलमा प्रख्यात योगा मेन्टरर्स जेन (विन्यास योगा) सहित योगी प्रितु (क्रिया योगा), यानित्जा देरु (योगा निद्रा तथा साउण्ड हिलिङ), सिद (शमानिक साउण्ड हिलिङ), राघव (साउण्ड हिलिङ, कीर्तन), काते (नादा योगा एण्ड मन्त्र एक्सपिरियन्स), गौरव (नुर्टुरिङ रुट्स, इनर चाइल्ड हिलिङ), डिजे कान एक्स्टेटिक डान्स मेडिटेसन, डीजे दीप (एक्स्टेटिक डान्स) आदि सेसन हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्