सार्वजनिक पोखरीमा कुनै पनि संरचना निमार्ण नगर्न अदालतको अन्तरिम आदेश
बाँके । बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीमा कुनै पनि संरचना निमार्ण तथा कार्य नगर्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
अदालतमा आज बिहीबार भएको सुनवाईमा उच्च अदालत नेपालगन्ज इजलासका न्यायाधीश टङ्कप्रसाद गुरुङ र न्यायाधीश गोविन्द जोशीको संयुक्त इजलासले पोखरी भएको जग्गामा माटो लगायतका अन्य सामाग्री पटान नगर्नु नगराउनु र कुनै पनि संरचना निमार्ण नगर्नु नगराउनु भनी आदेश दिएको हो ।
चैत ६ गते भएको सुनवाईमा अदालतले गरेको अल्पकालिन आदेशलाई नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । नरैनापुर–१ कटकुईया निवासी अरुण कुमार तिवारीले सार्वजनिक सरोकारको विषय भन्दै जिल्ला प्रशासन कार्यालय, नरैनापुर गाउँपालिका, वडा नं. १ कार्यालय विरुद्ध उच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
विपक्षीले उक्त पोखरी भएको जग्गामा खाली देखेर सो स्थानमा विद्यालय लगायतका संरचना बनाउन निर्णय गरेको लगायत लिखित जवाफ अदालतमा पेश गरेको थियो । तर त्यो कानून संगत नभई सार्वजनिक पोखरी, तालतलैया जस्ता स्थानलाई संरक्षण गर्नुपर्ने भएकाले त्यहाँ कुनैपनि संरचना निमार्ण नगर्न अदालतले रोक लगाएको हो ।
नरैनापुर–६ कटकुईयामा कित्ता नं.२६५ को जग्गामा सार्वजनिक पोखरी रहेको छ । उक्त पोखरीको संरक्षण गर्न स्थानीय सरकारको दायित्व हो तर त्यसको संरक्षण नगरी पोखरीमा संरचना निर्माण गरी पोखरीलाई अस्तित्वविहीन बनाउन थालेको भन्दै स्थानीयले समेत पोखरीको संरक्षण सम्बद्र्धन गर्न माग गरेका छन् ।
परापुर्वकालदेखि रहेको पोखरीबाट त्यस क्षेत्रमा स्थानीयले स्वच्छ र स्वस्थ वातावरणको लाभ लिनुका साथै पोखरीको डिललाई बाटोको रुपमा प्रयोग गर्ने, पानीले सिचाई गर्ने, गाई भैँसी चराचुरुङ्गी जङ्गली र घरेलु जनावरले पानी खाने लगायतको कार्यमा पोखरीको गर्दै आएका छन् ।
उक्त पोखरी चमर गढहीको नामले प्रसिद्ध रहेको छ । पोखरी संरक्षण विहीन अवस्थामा रहेकोले बर्षाको बेलामा चारै तिरबाट पानीसँगै माटो पनि बगेर आउने गरेकोले उक्त पोखरी बिस्तारै पुरिँदै गएको छ । वर्तमान जलवायु परिवर्तनको असर नेपालमा पनि परेको छ । पानीका मुहानहरू सुक्दै गइरहेको अवस्था छ ।
पोखरी जङ्गल र कटकुईया गाउँको नजिक रहेकोले सुख्खा याममा जङ्गलभित्रका पानीका मुहानहरू सुकेपछि जङ्गली जनावर र घरेलु जनावरहरू सोही पोखरीको पानीले जीवन निर्वाह गर्दै आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्