तपाईँ सुन्दै हुनुहुन्छः

झापाका दुई ठूला मल उद्योग वर्षौंदेखि बन्द, खण्डहरमा परिणत

भद्रपुर, झापा । विविध कारणले स्थापनाको केही वर्षभित्र बन्द भएका झापाका दुई वटा मल उद्योग पुनः सञ्चालनमा आउन नसक्दा खण्डहरमा परिणत भएका छन् ।

मुलुककै पहिलो रासायनिक मल उद्योग लुना नेपाल केमिकल एण्ड फर्टिलाइजर प्रालि र झापाको दोस्रो मल उद्योग एभरेष्ट केमिकल एण्ड फर्टिलाइजर इण्डष्ट्रिज बन्द भएको लामो समयसम्म सञ्चालनमा आउन नसकेपछि ती उद्योग अहिले चमेराको बासस्थान बन्न पुगेका छन् ।

यसरी दुई ठूला मल उद्योग बन्द हुँदा झण्डै ३० करोड लगानी खेर गएको छ । एकातिर मल नपाएर किसानहरु हाहाकार हुन्छन् भने स्थापित मल उद्योगहरु बन्द हुनु बिडम्बनापूर्ण भएको बताउनुहुन्छ झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु ।

मेचीनगर नगरपालिका–१४ को दुहागढीमा वि सं २०५९ मा स्थापना गरिएको लुना मल उद्योग पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको थियो । उद्घाटन भएको केही समयमै उद्योग बन्द भएको थियो । सो उद्योग नेपालकै पहिलो मल उद्योग हो । युरिया, नाइट्रोजन, पोटास, डिएपीलगायतका रासायनिक मल उत्पादन गर्ने गरी उद्योग स्थापना भएको थियो । भारत सिक्किमका राजनीतिज्ञ अशोककुमार सुब्बाले नेपाली साझेदारहरुसँग मिलेर उद्योग सञ्चालन गर्नुभएको थियो । उद्योग सञ्चालनका लागि उद्योगले कृषि बिकास बैंकबाट २५ करोड रुपैयाँ ऋण पनि लिएको थियो ।

उद्योग परिसरभित्र वनमारा झार, तीतेलहरा र बिभिन्न जातजातिका बनस्पतिले ढाकिएको छ । भवनका प्रायः कोठाहरुमा चमेरा बस्ने गर्छन् भने कहिलेकाही जङ्गली हात्ती पनि आएर बस्ने गरेको चौकीदार दीपक राजवंशीले बताउनुभयो ।

स्थापनाकालमै उद्योगले भारतबाट रासायनिक मल भित्र्याई प्याकेजिङ मात्र गरेर नेपाली ब्राण्डमा बेच्न थालेपछि लुना मलको बजार खस्किएको थियो ।

यसैगरी, झापाको हालको भद्रपुर नगरपालिका वडा नं ९ मा आठ वर्षअघि चार करोड लगानीमा सञ्चालनमा ल्याइएको एभरेष्ट केमिकल एण्ड फर्टिलाइजर इन्डस्ट्रिज प्रालि पनि बन्द छ । सो उद्योग डेढ महिना सञ्चालन गरेर बन्द गरिएको थियो । उद्योगले दानादार धनवर्षा मल उत्पादन गर्दै आएको थियो ।

आवश्यक कच्चा पदार्थको अभावले उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको सञ्चालक बुद्धिप्रसाद घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button