तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा एकै पटक ७ हजारभन्दा बढी स्याउको बिरुवा रोपियो 

बाजुरा । बाजुरामा एकै पटक सात हजारभन्दा बढी स्याउ रोपिएको छ । 

जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं ९ अँगाउपानी (काँध) मा १ सय १५ जना परिवारको सहभागितामा एकै पटक सात हजार तीन सय बोट स्याउ रोपेर सामुदायिक बृहत् स्याउ बगैँचा स्थापना गरिएको हो ।

कृषि ज्ञान केन्द्र बाजुराको बृहत् विशेष उत्पादन कार्यक्रम अन्तरगत बुढीनन्दा नगरपालिका ९ अँगाउपानी (काँध) मा १ सय १५ जना परिवारको सहभागितामा ७ हजार ३ सय बोटको करिब २५ हेक्टरमा एउटै क्लष्टरमा स्याउ रोपेर सामुदायिक स्याउ बगैँचा स्थापना गरिएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मिन प्रसाद जैशीले बताउनुभयो ।

सोही स्थानमा आगामी बर्ष थप ७ हजार सात सय बोट थप गरी १५ हजार बोटको स्याउ बगैँचा स्थापना गर्ने लक्ष्य रहेको निमित्त कार्यालय प्रमुखले जैशीले बताउनुभयो । सोही बृहत् स्याउ बगैँचाबाट अबको ५÷६ वर्षपछि एक बोटबाट ३० किलोग्राम मात्रै स्याउ फलेमा पनि चार हजार पाँच सय क्विन्टल स्याउ उत्पादन भई किलोको रू.एक सय का दरले बिक्री गर्न सकेमा करिब ४ करोड ५० लाख रकम ती १ सय १५ कृषक परिवारको हातमा पर्ने कृषि ज्ञान केन्द्रको अनुमान छ ।

अँगाउपानी (काँध) मार्तडी – कोल्टी सडकको आसपासको क्षेत्र भएकोले कृषि पर्यटन मार्फत निकै नै लाभ लिन सकिने र या क्षेत्र स्याउ उत्पादनका लागि उपयुक्त भएकाले कृषि ज्ञान केन्द्र बाजुरा को बृहत् विशेष उत्पादन कार्यक्रम कार्यान्वयन गरी कृषकलाई आत्मनिर्भर बनाउन लागिएको बुढीनन्दा नगरपालिका वडा नं ९ का वडाध्यक्ष मानबहादुर रावतले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यहाँका अधिकांश कृषकले स्याउ खेती गर्ने गरेको भएपनि व्यावसायिक रुपमा थोरैले मात्रै सो खेती गर्ने गरेको र सो क्षेत्र कृषि प्राविधिकको जाँचबुझ र आवश्यक परामर्शबाट खेती गरे कृषकले मनग्गे आम्दानी लिन सक्ने भएकाले कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो ।”

‘फलफूल रोपौँ, कृषक पेन्सन कार्यक्रममा सहभागी बनौँ’ भन्ने अभियानका साथ आफूहरू अगाडी बढेको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक बोहराले बताउनुभयो । अहिले फलफूल रोपे ५÷६ वर्षपछि निरन्तर बिना मेहनत बोट फल्ने भएकाले कृषकहरूका लागि फलफूल खेती पेन्सन सो सरह भएकाले प्रोत्साहनका लागि यस्ता कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख बोहराले  बताउनुभयो ।

बृहत् स्याउ बगैँचा स्थापनाका लागि बृहत् विशेष उत्पादन क्षेत्र सञ्चालक समिति, हरित स्वयंसेवक, वडा अध्यक्ष लगायत जनप्रतिनिधि, कृषि विकास शाखा बुढीनन्दालगायत स्थानीय कृषकलाई सक्रिय रुपमा परिचालन गरिएको छ ।

स्याउ बाजुराको बुढीनन्दा नगरपालिकाको वडा नं ९ अँगाउपानी, वडा नं ३ को ताडी, घोडाकोट, हिमाली गाउँपालिका–१ को बाम,नेटा,चिन वडा नं २ को कोटीगाँउ, रुम्दी, वडा नं ३ को गुम्बा, वडा नं ४ को बोर्ता, वडा नं ५ को बछ्या,ग्याम्चु, खामलेक र ६ को झिनी स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नं ३ मा रहेको संकल्पे, सैँदेओ, जेवाले, खुन्का, लोथी र वडा नं १ को जोरु र गौेमुल गाउँपालिका वडा नं १ को अम्लिश, अन्द्राडी, वडा नं ४ को निलासैनलगायत विभिन्न स्थानमा स्याउ उत्पादन हुने गर्दछ ।

बाजुरामा गत वर्ष उत्पादन भएको मध्ये २० लाख बराबरको स्याउ धनगढी, नेपालगञ्ज लगायतका विभिन्न शहरमा निर्यात भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button