रुसी सेनामा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन रुस सरकारसँग माग

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन रुस सरकारसँग माग गरिएको जानकारी संसदलाई गराउनुभएकाे छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले रुसी सेनामा रहेर मृत्यु भएका नेपालीको शव नेपाल पठाउने, घाइते भएका तथा मृत्यु भएकाको परिवारलाई राहत उपलब्ध गराउने, रुसी सेनामा रहेका नेपाली सेनाको सङ्ख्या, घाइते नेपालीको सङ्ख्या र उनीहरूको अवस्थाबारे रुस सरकारसँग माग गरेको जानकारी गराउनुभयो ।
परराष्ट्रमन्त्री श्रेष्ठले सरकारले परम्परागत सम्झौता अनुसार केही मित्र राष्ट्रहरूको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा भर्ना हुन दिने नेपाल सरकारको नीति नरहेको सबै राष्ट्र स्पष्ट गराएको बताउनुभयो
रुसी सेनामा नेपालीलाई भर्ना नगर्न र गरेकालाई तत्काल नेपाल फर्काउन र युक्रेनमा युद्ध बन्दी भएका नेपालीलाई तत्काल फर्काउन पहल गर्ने स्पष्ट अडानहरू रुस सरकार समक्ष राखेको पनि परराष्ट्रमन्त्री श्रेष्ठले सदनमा जानकारी गराउनुभयो
उहाँले परराष्ट्र सम्बन्ध र कूटनीतिको सवालमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनु भएको छ ।
संसदमा विशेष समय लिएर परराष्ट्रमन्त्री श्रेष्ठले देशको हितलाई केन्द्रबिन्दुमा राखेर सबैले परराष्ट्र सम्बन्ध र कूटनीतिका मामलामा सहमतिको साथ अगाडि बढ्नु आवश्यक रहेको औँल्याउनु भयो ।
पराष्ट्रमन्त्री श्रेष्ठले सरकार र सबैको साझा कार्यभारका रुपमा रहेको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षा र प्रवद्र्धन गर्न सरकार गम्भीर रहेको बताउनुभयो ।
परराष्ट्रमन्त्री श्रेष्ठले राष्ट्रिय हितलाई सर्वोपरि राखेर विश्वको बदलिँदो अवस्था, भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिएर स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेर दक्ष र कुशल कूटनीतिक अभ्यास गर्दै अगाडि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो ।
परराष्ट्रमन्त्री श्रेष्ठले आर्थिक कूटनीतिलाई पनि महत्वपूर्ण पक्षका रुपमा अगाडि बढाउने सदनमा जानकारी गराउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्