राष्ट्रियसभामा छ वर्षे पदावधि पूरा गर्ने सांसदबाट अनुभव प्रस्तुत

काठमाडौँ । यही फागुन २० गतेदेखि राष्ट्रियसभामा छ वर्षे पदावधि पूरा गरी बिदाई हुन लाग्नुभएका सांसदहरुले आज राष्ट्रियसभाको बैठकमा आफ्नो अनुभव राखिरहनुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आगामी दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न सांसदलाई समय उपलब्ध गराउनुभएको थियो ।
सभामा आफ्नो कार्यकाल पूरा गर्न लाग्नुभएका सदस्यले छ वर्षको कार्यअवधिमा सभा तथा समितिमा रही संसदीय अभ्यासमा प्राप्त गरेको अनुभवलगायत समसामयिक विषयमा बोल्न समय माग गरेकाले समय उपलब्ध गराइएको थियो । संवैधानिक व्यवस्थाअनुसार छवर्षे पदावधि पूरा गरी राष्ट्रियसभाका अध्यक्षसहित २० सांसद यही फागुन २० गतेदेखि बिदाई हुँदै हुनुहुन्छ ।
बैठकमा सांसदहरुले संसदमा जनताका कुरा उठाउन पाएको, नीति निर्माण गर्दा कहिले सत्तापक्ष, कहिले प्रतिपक्ष सांसदको भुमिका निभाएको भन्नुहुदै राजनीतिकर्मीका लागि संसद विश्वविद्यालय भन्दा पनि बढी सिक्ने थलो भएको बताउनुभयो ।
सांसदहरुले संसदमा गैरसंसदीय अभ्यास हुन नदिई संसदको गरिमा बढाउनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले आफ्नो कार्यकालमा विभिन्न आयोजनाहरुको स्थलगत अनुगमन गरेर सरकारलाई बुझाएको प्रतिवेदनको कार्यान्वयन हुनेमा विश्वास व्यक्त गर्दै सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने लगायतका विषयमा सुझाव दिनुभयो ।
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासहित सांसद अनिता देवकोटा, इन्दु कडरिया, कुमार दसौदी, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नन्दा चपाईं, नरपति लुहार, प्रकाश पन्थ, प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ, महेशकुमार महरा, रमेशजङ्ग रायमाझी, रामचन्द्र राई, बिना पोखरेल, डा बिमला राई पौड्याल, सिंगबहादुर विश्वकर्मा र हरिराम चौधरीको पदावधि सकिन लागेको हो ।
बैठक जारी छ ।








प्रतिक्रिया राख्नुहोस्