सञ्चार ग्राम र उद्योग कृषि तथा सहकारी मन्त्रालयबिच कार्यक्रम प्रसारणका लागि सम्झौता
विराटनगर । कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयको गतिविधि योजना तथा कार्यक्रमको प्रचारप्रसार गर्ने उद्देश्यले रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर र मन्त्रालयबिच सम्झौता भएको छ ।

मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा दुवै पक्षबिच कार्यक्रम प्रसारण गर्ने विषयमा सम्झौता भएको हो । सम्झौतापत्रमा मन्त्रालयका सचिव डा लेखनाथ दाहाल, मन्त्रालयका महाशाखा प्रमुख डा दिपा दिवाली र रेडियो नेपाल सञ्चार ग्रामको तर्फबाट सञ्चार ग्रामका कार्यालय प्रमुख बलराम चौधरी तथा कार्यक्रम अधिकृत नयराज नेपालले हस्ताक्षर गर्नुभएको छ ।
उक्त कार्यक्रममा सञ्चार ग्रामका वरिष्ठ कार्यक्रम सहायक बलराम दाहालको समेत सहभागिता थियो ।
सम्झौतापत्रमा पाक्षिक रुपमा कृषिका कुरा कार्यक्रम तथा मन्त्रालयको सार्वजनिक हितका सूचना पिएसए प्रसारण गरिने विषय उल्लेख भएका व्यापार महाशाखा प्रमुख समेत रहनुभएका कार्यक्रम अधिकृत नेपालले बताउनुभयो ।
सो अवसरमा मन्त्रालयका सचिव डा लेखराज दाहालले कार्यक्रमको प्रभावकारिताका विषयमा जोड दिनुहुँदै आगामी आर्थिक वर्षमा मन्त्रालयले थप कार्यक्रम प्रसारणका लागि रेडियो नेपालसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
उहाँले मन्त्रालयको हरेक गतिविधि तथा कार्यक्रम कोशी प्रदेशका नागरिकसम्म पुर्याउन रेडियो नेपालको कार्यक्रमले थप मद्दत पुर्याउँदै नयाँ प्रविधिको विकासमा सहयोग पुग्ने बताउनुभयो ।
पाक्षिक रुपमा प्रसारण हुने सो कार्यक्रमको अवधि १५ मिनेटको रहने सञ्चार ग्रामका वरिष्ठ कार्यक्रम सहायक बलराम दाहालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्