तपाईँ सुन्दै हुनुहुन्छः

‘पञ्चायतलाई परास्त गर्न स्व नेता भट्टराईको भूमिका महत्वपूर्ण’

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पञ्चायतलाई परास्त गर्न स्व. नेता कृष्णप्रसाद भट्टराईको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

आइतबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्म दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान मन्त्री खड्काले पञ्चायतको विरुद्धको आन्दोलनलाई नेपाली माटोबाटै लडेर जित्नको लागि नेता भट्टराईले स्वदेशमै बसेर आन्दोलनको नेतृत्व गर्नुभएको भन्दै नेता भट्टराईको सङ्घर्ष विशेष रहेको बताउनुभयो । उहाँले स्व. नेता बिपी कोइराला लगायतका नेताहरू पञ्चायत विरुद्धको आन्दोलनका लागि प्रवासमा गए पनि नेता भट्टराईले स्वदेशमै रहेर आन्दोलन गर्नु विशेष रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जननायक बिपी कोइराला लगायतका नेताहरू प्रवासमा जानुभयो, त्यहाँबाट पनि सङ्घर्ष गर्नुभयो । तर, किसुनजीले नेपाल नछोडीकन, नेपालभित्रै बसेर, नेपालकै माटोमा बसेर सङ्घर्ष गर्नुपर्छ र यहीँ भित्रैबाट पञ्चायतलाई परास्त गर्नुपर्छ भन्ने अर्को धारको नेतृत्व गर्दै यहीँ बसेर हामी भन्दा अघिका नेताहरूलाई अगुवाइ गर्दै हिँड्नुभयो । हामीले पार्टी र सरकार सञ्चालनमा उहाँले देखाएका बाटोहरू, उहाँको निष्ठाको कुरा गर्छौँ, जीवन जगतको कुरा गर्छौँ, त्यसमा कति प्रतिशत उहाँको बाटोमा हिँडाउन सकेका छौँ । त्यसमा हामीले स्मरण गर्दै, भएका कमजोरी सच्याउने, गल्ती नगर्ने र हुन दिने छैनौँ ।’

उपसभापति खड्काले नेता भट्टराईको निष्ठा र जीवनबाट सिकेर सरकार र पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button