तिब्बती सीमाका स्थानीयको पीडा : हिउँदमा बसाई सर्न भालुकै पीरलो

दोलखा। चिसोबाट बच्न र चौरी चरणको लागि हिउँदे मौसममा बसाई सर्न बाध्य तिब्बतसँग सीमा जोडिएको दोलखाको लप्चीका बासिन्दालाई चितुवा र भालुबाट खाद्यान्न तथा घरपालुवा पशु जोगाउनै मुश्किल भएको छ ।
चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ लप्चीका वासिन्दा मङ्सिरको पहिलो साताबाट चिसोमा जोगिन र चौँरीको लागि चरण क्षेत्रको खोजिगर्दै वडा नम्बर– १ कै लुम्नाङ झर्ने गर्छन् । बसाई सराईको क्रममा भालु तथा चितुवाले आक्रमण गरी धेरै चौरी र घोडा मार्ने गरेको लप्चीका स्थानीय कर्मा शेर्पाले बताउनु भयो । भालुले कुरुवा र बुढा– बुढीमात्र भएको लप्चीको घरमा पसेर खाद्यान्न समेत खाइदिएको कर्माले बताउनु भयो ।
कोरोना पछि यो वर्षको दशै– तिहार बाट चीन सरकारले तिब्बतसँगको नाका खोलिदिएपछि लप्चीका स्थानीयले चौरी, चौँरीको घ्यु, छुर्पी बिक्री गरेर त्यताबाट केही महिनालाई पुग्ने खाद्यान्नका सामग्रीहरु ल्याएका थिए, कर्माले भन्नु भयो– बसाई सर्नेक्रममा कुरुवा र बुढा– बुढीमात्र भएको लप्चीका घरहरूमा रहेका त्यस्ता खाद्यान्नका सामग्री भालुले खाइदिएको छ ।

हिउँदमा युवाहरू चौरीखेद्दै लुम्नाङ झर्नुपर्ने र लप्चीको घरमा बुढा– बुढी तथा केही कुरुवाहरू मात्र रहने भएपछि भालुले दुख दिने गरेको स्थानीय लाक्पा शेर्पाले बताउनु भयो । लप्ची क्षेत्रमा दुईवटा जति भालु देखिएको र त्यसको आक्रमणबाट घरपालुवा पशु तथा चामल, तेल, स्योस्यो जस्ता खाद्यान्न जोगाउन मुश्किल परेको लाक्पाको भनाई छ ।
विगुको वडा नम्बर– १ लप्चीमा ४६ घरधुरी र झण्डै एक सय ५० जनसङ्ख्या रहेको छ । उनीहरू मध्य चौरी पालन गर्ने झण्डै १४ घरधुरीका वासिन्दा मङ्सिर देखी चैत्र महिनासम्म वडा नम्बर– १ मै पर्ने लुम्नाङमा बसाई सर्ने गर्छन् ।
गौरीशङ्कर संरक्षण क्षेत्रले जङ्गली जनावरले हानी नोक्सानी पु¥याए क्षतिपूर्ति दिने व्यवस्था गरेको भएपनि संरक्षण क्षेत्रको कार्यालय र आफूहरू बस्ने ठाउँ निक्कै टाढा रहेकोले समयमै आवश्यक कागजात पु¥याउन नसक्दा समस्या हुने गरेको लप्चीका अर्का स्थानीय तेन्जिङ शेर्पाले बताउनु भयो ।
विगु गाउँपालिका वडा नम्बर– १ लामाबगरका वडा अध्यक्ष मेम बहादुर तामाङ हिउँदमा लप्चीका वासिन्दा बाध्यतावश लुम्नाङ बसाई सर्नुपर्ने र यो क्रममा भालुले खाद्यान्न तथा घरपालुवा पशु खाइदिने गरेको गुनासो धेरै आउने गरेको बताउनु हुन्छ । यो पटक पनि भालुले धेरै चौरी, घोडा र खाद्यान्न खाइदिएको गुनासो लिखित तथा मौखिक रुपमा आएका छन्, वडा अध्यक्ष मेम बहादुर तामाङले भन्नु भयो– हामीले त्यस्ता गुनासोको बारेमा अध्ययन गरी गौरीशङ्कर संरक्षण क्षेत्रसँग समन्वय गरेर क्षतिपूर्तिको व्यवस्था गर्ने प्रयत्न गरिरहेका छौ ।








प्रतिक्रिया राख्नुहोस्