पर्साको पकहामैनपुर गाउँपालिका पूर्ण खोप घोषणा
वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका आज एक समारोहका बिच पूर्ण खोप घोषणा गरिएको छ ।
गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताको अध्यक्षतामा स्वास्थ्य चौकी पकहामैनपुरमा सम्पन्न घोषणा सभामा जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन कुमार सर्राफले गाउँपालिका पूर्ण खोप भएको घोषणा गर्नु भयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य पर्साका खोप अधिकृत जयमोद ठाकुरले खोप घोषणा गराउन खटिएका कर्मचारीलाई सम्मान गर्नु भएको थियो । पर्सा जिल्लामा १० वटा पालिका पूर्ण खोप घोषणा भइसकेको र बाकी ४ वटा मध्ये पकहामैनपुर गाउँपालिका ११ औ पालिकाको रुपमा पूर्ण खोप घोषणा भएको हो ।
बाँकी ३ वटा मध्ये कालिकामाई, धोबिनी र विन्दवासिनी रहेको खोप अधिकृत ठाकुरले बताउनुभयो । कार्यक्रममा जिल्ला सभापति निरञ्जन कुमार साह सरार्फ, उपसभापति पुरन पटेल, जिल्ला स्वास्थ्य पर्सा शाखाका प्रमुख डा. मुक्तिनारायण साह, पकहामैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद, उपाध्यक्ष सर्फुननेशा, प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरी, जनस्वास्थ्य निरीक्षक अनिल यादव लगायत वडा अध्यक्षहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
घोषणा सभालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष सुरेश प्रसादले आउँदो आर्थिक बर्ष २०८१/२०८२ को योजनामा महिला स्वयम सेविकाहरूलाई दिँदै आएको तलब भत्ता वापतको ३ हजारमा अब २ हजार बढाएर ५ हजार प्रति महिना उपलब्ध गराउने घोषणा गर्नु भयो ।
घोषणा सभाको जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निरञ्जन साह सरार्फले उद्घाटन गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्