तपाईँ सुन्दै हुनुहुन्छः

गोही संरक्षण मेलामा सात संरक्षणकर्मीलाई अवार्ड 

चितवन  ।  नेपालकै तेस्रो पर्यटकीय गन्तव्य मानिएको सौराहामा सम्पन्न गोही संरक्षण मेलामा सात जना संरक्षणकर्मीहरूलाई संरक्षण अवार्ड प्रदान गरिएको छ ।

रत्ननगर वडा नं ७ मालपुर निवासी सरस्वती सेढाईसहित स्थानीय स्तरमा गोही संरक्षणको लागि योगदान दिएका ६ जना र संरक्षणमा राष्ट्रिय रुपमा भूमिका खेल्ने एक जना गरी सात जनालाई अवार्ड प्रदान गरिएको हो । 

केयर फर नेचरले आयोजना गरेको गोही संरक्षण मेलामा सेढाई सहित गोही प्रजनन् केन्द्रका कर्मचारीहरू सन्त बोटे, बुद्धि बोटे र बीरबहादुर बोटे, खैरहनीका श्याम रेग्मी र ईश्वरी पाठक तथा राष्ट्रिय रुपमा प्रोफेसर करण बहादुर शाहलाई संरक्षण अवार्ड प्रदान गरिएको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङले जानकारी दिनुभयो  ।

कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुर्जा पुन र केयर फर नेचरकी निर्देशक रञ्जना भट्टले संरक्षणकर्मीहरूलाई अवार्ड हस्तान्तरण गर्नुभएको थियो  । लामो समय देखि संरक्षणमा सक्रिय सेढाई गोही संरक्षण, वातावरण संरक्षण तथा वन र वन्यजन्तु संरक्षणको लागि योगदान दिँदै आउनु भएको छ  । बर्ड एजुकेशन सोसाइटी चितवनकी पूर्वअध्यक्ष, सेढाईं  हाल समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान बछौलीकी सचिव समेत हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button