तपाईँ सुन्दै हुनुहुन्छः

आँखा उपचारका लागि राप्तीसोनारीमा ‘ग्रामीण आँखा केन्द्र’सञ्चालनमा ल्याइँदै

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आउने भएको छ । राप्तीसोनारी गाउँपालिका र नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानबीच आँखा केन्द्र सञ्चालन गर्ने सम्झौता भएसँगै राप्तीसोनारी गाउँपालिका–४ बैजापुरमा आँखा केन्द्र सञ्चालनमा आउने भएको हो । आँखा केन्द्र स्थापनाको लागि नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठान तथा स्थानीय तह बीच पाँच वर्षका लागि सम्झौता भएको हो ।

गाउँपालिकाका तर्फबाट पालिका अध्यक्ष तप्तबहादुर पौडेल र प्रतिष्ठानका तर्फबाट परियोजना व्यवस्थापक रवि गौतमले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । राप्तीसोनारी अस्पतालबाटै सेवा प्रवाह गर्ने गरी केन्द्र सञ्चालनमा ल्याउन लागिएको पालिकाका अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले एक महिनाभित्रै आँखा उपचार सेवा दिने गरी पालिकाले प्रक्रिया अगाडि बढाइसकेको जानकारी पनि दिनुभयो । एक जना नेत्र सहायक र एक जना कार्यालय सहयोगी गरी दुई जना कर्मचारी केन्द्रमा हुनेछन् ।

त्यसका लागि विज्ञापन खोल्ने तयारी पालिकाले गरेको छ । पहिलो वर्ष प्रतिष्ठान र पालिकाले उनीहरूको तलवभत्ता ५०–५० प्रतिशत बेहोर्ने सहमति भएको छ । त्यसपछि भने पालिकाले क्रमशः बढाउँदै लैजाने र तीन वर्षपछि केन्द्रका सबै कर्मचारीको सम्पूर्ण तलव पालिकाले बेहोर्नु पर्नेछ । जनताको पहुँचमा पुग्न सक्ने गरी एकीकृत रुपमा आँखा स्वास्थ्य सेवा सञ्चालन गर्ने उद्देश्यका साथ केन्द्र सञ्चालनमा ल्याउन लागिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताउनुभयो ।

आँखा केन्द्र पालिकाको स्वास्थ्य शाखाको एकिकृत स्वास्थ्य सेवाको अङ्गको रुपमा रहने पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनुभयो । केन्द्र स्थापनाको लागि आवश्यक उपकरणहरू तिलगंगा आँखा प्रतिष्ठानले खरिद गरेर केन्द्रको नाममा हस्तान्तरण हुने गरी सम्झौता भएको पनि उहाँले बताउनुभयो ।

स्वास्थ्य सेवामा स्थानीयको पहुँच बढाउने गरी पालिकाले स्वास्थ्य सेवालाई विस्तार गर्दै आएको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले सबै जनताको पहुँचमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्ने, आँखा केन्द्रमा पहिचान भएका मोतिविन्दुका बिरामीहरूको लगत राखी तिलगंगा आँखा प्रतिष्ठानसँग समन्वय गरि शल्यक्रिया शिविरमा प्रेषण गर्ने, आँखा स्वास्थ्य कार्यक्रमलाई प्रवर्द्धन गर्न निरन्तर रुपमा समुदायको सहभागिता र सहकार्यलाई ग्राहयता दिइने, आँखा स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रमहरू केन्द्रबाट सञ्चालन गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button