तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती नदीमा माथेवास-धामपुर जोड्ने पुल निर्माण, मन्त्री ज्वालाद्वारा उद्घाटन

नेपालगन्ज । बाँकेको राप्तीसोनारीस्थित राप्ती नदीमा माथेवास-धामपुर जोड्ने पुल सञ्चालनमा आएको छ । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले माथेवास-धामपुर जोड्ने ५५४.४५ मिटर लामो पुलको उद्घाटन गर्नुभएको छ । पुल निर्माण भएसँगै त्यस क्षेत्रका १० हजार घरधुरीका ६० हजार मानिस लाभान्वित हुनेछन् ।

पुल उद्घाटन गर्दै मन्त्री ज्वालाले देशको सबैभन्दा धेरै जनसङ्ख्या र ठूलो भूगोल भएको गाउँपालिका भएपनि विकासको मूल प्रवाहमा राप्तीसोनारी पिछडिएको भन्दै यसको उत्थानका लागि पहल गरिने विश्वास दिलाउनुभयो । ‘यहाँका स्थानीय जनप्रतिनिधि, प्रदेश र संघीय जनप्रतिनिधिहरूले यहाँको समस्याबारे ध्यानाकर्षण गराउनु भएको छु, उहाँले भन्नुभयो–‘मेरो तहबाट समस्या समाधानका लागि गर्नुपर्ने सहयोग सबै हुन्छ ।’ उहाँले राप्तीसोनारी गाउँपालिकालाई राप्ती नदीले क्षति पुर्‍याएपनि स्रोतको हिसाबले निकै धनी रहेको औँल्याउनुभयो । सम्भावना भएर पनि विकास निर्माणका सवालमा पालिकामा थुप्रै कामहरू गर्न बाँकी रहेको पनि उहाँले बताउनुभयो । ‘यहाँ ठूलो वनजंगल छ । अन्य प्राकृतिक स्रोतको प्रचुर सम्भावना छ । यसको सदुपयोग गरेर पालिकालाई संवृद्ध बनाउन सकिन्छ’ उहाँले भन्नुभयो ।

बाँके क्षेत्र नं।१ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य ढकालले राप्तीसोनारीको विकास र संवृद्धिका लागि मन्त्री ज्वालाको ध्यानाकर्षण गराउनुभयो । उहाँले राप्ती नदीको कटान, सडक निर्माण लगायतका सवालमा मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले अहिलेको परिस्थिति विकास निर्माणका लागि अनुकूल रहेको पनि उल्लेख गर्नुभयो । गाउँपालिका अध्यक्ष तप्त पौडेलले पालिकाको विकासका लागि संघ सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button