तपाईँ सुन्दै हुनुहुन्छः

केपी ओली कप राष्ट्रिय क्रिकेट : बागमती सेमिफाइनलमा

कास्की । पोखरामा जारी ‘केपी ओली कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट’ प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । बागमतीले लगातार दुई खेल जित्दै प्रतियोगिताको अन्तिम चारणमा पुगेको हो ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा बागमतीले कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्न सफल भयो । खेलमा टस जितेर ब्याटिङ सुरु गरेको बागमतीले रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा छ विकेटको क्षतिमा एक सय ८९ को विशाल योगफल तयार गरेको थियो ।

बागमतीका गौतमले १० चौका र दुई छक्का हिर्काउँदै सर्वाधिक ८२ रन बनाए भने पाण्डेले चार चौका र छ छक्कासहित ७० रनको योगदान दिए । जवाफी ब्याटिङ थालेको कर्णाली प्रदेश भने १७ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर ९९ रन मात्रै जोड्न सक्यो ।

बागमतीका कप्तान सन्दीप लामिछानेले चार विकेट लिएपछि कर्णालीलाई लक्ष्य भेट्टाउन सकस भएको थियो । बागमतीका दीपेश श्रेष्ठले दुई तथा इशान पाण्डे, सुवास खत्री, रिजन ढकाल र प्रतीश जिसीले समान एक/एक विकेट लिए ।

बागमतीले शुक्रबार उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी(रातो)लाई पराजित गरेको थियो । कर्णालीका दिनेश अधिकारीले तीन तथा दिवान पुन र अनुज चनाराले समान एक/एक विकेट लिए ।

प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको च्याम्पियन टोलीले रू पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रू दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियमानुसार सञ्चालन भएको प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले रू ३० हजार, ‘बेस्ट बलर’ले रू २० हजार, र ‘म्यान अफ द म्याच’ले रू पाँच हजार पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button