तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार मन्त्रीको पहलमा बंगलाचुलिमा फाइवर नेट विस्तार

दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको पहलमा दाङको विकट बंगलाचुली गाउँपालिकामा नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार गरिएको छ ।

बंगलाचुलीमा अब अत्याधुनिक प्रविधिको एन टी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको ल्याण्डलाईन टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सकिने छ । टेलिकमले आज बंगलाचुली गाउँपालिका चार कमिरेचौरमा ५ सय १२ लाइन क्षमताका फाइबर डिस्ट्रिव्युसन क्याबिनेट (एफडिसी) जडान, नेटवर्क विस्तार गरेको छ ।

नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय काठमाडौँका इन्जिनियर सुरेश भण्डारीका अनुसार पहिलो चरणमा बंगलाचुली गाउँपालिकाको कार्यालय, कमिरेचौर बजार र श्रीवारीका गाउँहरूमा यो सेवा उपलब्ध गराइने छ । साथै क्रमशः बंगलाचुलीका मुख्य स्थानहरूमा यो सेवा विस्तार गरिने इन्जिनियर सुरेश भण्डारीले बताउनुभयो । बंगलाचुली गाउँपालिकामा यही मङ्सिर ७ गतेबाट टेलिकमको फाइबर टु द होम एफटीटीएच सेवा प्रयोग गर्ने गरी तयारी गरिएको भण्डारीले जानकारी दिनुभयो ।

फाइबर टु द होम (एफटीटीएच) सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकै पटक तिन वटा सुविधा लिन सकिन्छ । यसबाट एकै पटकमा उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button