भेरीमा उपचार गराउने भूकम्पका घाइतेको सङ्ख्या ४६ पुग्यो, २ जना डिष्चार्ज
नेपालगन्ज। जाजरकोट भूकम्पमा घाइते भएका ४६ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । सोमबारको परकम्पमा परी घाइते भएका तीन महिने नाबालकलाई पनि आज भेरी अस्पतालमा ल्याइएको छ । हालसम्म ४९ जना भर्ना भएकोमा एक जनाको मृत्यु भएको छ भने दुई जना डिष्चार्ज भएका छन् ।
एक जनाको आइसियुमा उपचार भइरहेको जिल्ला आपतकालीन कार्यालय सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । पहिले सिकिस्त भए पनि हाल सुधारोन्मुख घाइतेको सङ्ख्या २ र सामान्य सुधारोन्मुख घाइतेको सङ्ख्या ४४ रहेको श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो १२ घण्टाभित्र २ जना घाइते भेरी अस्पतालमा थपिएका छन् भने दुई जना उपचारपछि घर फर्किएको अस्पतालले जानकारी दिएको छ ।
आज बिहानसम्म भेरीमा २६ महिला र २० जना पुरुषको उपचार भइरहेको छ । यी मध्ये जाजरकोटका ३०, रुकुम पश्चिमका १३, बाँकेका २ र सल्यानका १ जना छन् ।








प्रतिक्रिया राख्नुहोस्