तपाईँ सुन्दै हुनुहुन्छः

मुगु सामूहिक हत्या अपडेट : अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन

मुगु गमगढी ।  मुगु सामूहिक हत्या प्रकरण  बारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली शुक्रबार बेलुका घटना स्थलतर्फ हिँडेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी भिम ढकालले दिनु भएको जानकारी अनुसार सामूहिक हत्या काण्डको अनुसन्धानका  लागि जुम्लाबाट एक र सुर्खेतबाट २ टोली मुगुतर्फ हिँडेको छ ।

उहाँका अनुसार सुर्खेतबाट सिआइवी जस्तै विशेष अनुसन्धान गर्ने वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा ५ सदस्सीय प्रहरी टोली र अर्को डक टोली अनुसन्धान गर्न मुगु हिँडेको हो ।

टोली शुक्रबार राती  कालिकोट बसेर शनिवार बिहानै मुगु पुगी  हत्या बारे  विशेष अनुसन्धान थाल्ने डिआइजी ढकालले बताउनुभयो ।

मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँकी २८ वर्षिया श्रीदेवी बोहोरा र उनका  ११ वर्षीय छोरा मनोज बोहोरा ८ महिने  छोरा रहर बोहोरा   र ८ वर्षिया छोरी अप्सरा बोहराको  बिहीबार साँझ हत्या भएको प्रहरीले बताएको छ ।

शुक्रवार बिहान ९ बजे हत्या बारे  खबर पाउना साथ घटना स्थलमा विस्तृत विवरण बुझ्न प्रनाउ विरेन्द्र थापाको नेतृत्वमा प्रहरी घटना स्थलमा पुगेको थियो ।

मृतक  आमा छोरा छोरीसहित ७ गते बिहान दशै टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए । ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राती हत्या भएको हुन सक्ने प्रहरीको  अनुमान छ ।

‘९ गते बिहानैदेखि घर बाहिर ताला लगाएको देखेका थियौँ ।  बिहानै सिमि टिप्न खेत गरा तिर गएका होलान् सोचेर कसैले ख्यालै गरेनौँ ।  १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि फेरि माइती गएकी भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि  शुक्रबार बिहान १० बजे तिर ढोकाको ताला तोडी भित्र हेर्दा चारै जनाको घाँटी रेटी बीभत्स  हत्या भएको देखे’ मृतक श्रीदेवीकी माइजू रेसा बोहोराले बताउनु भयो  ।

शुक्रबार दिनभरी जसो प्रहरीले गाउँलेहरूबाट  प्रारम्भिक सूचना लिने काम गरेको छ भने घटना स्थललाई शिल गरि पहरा दिइरहेको छ ।  हत्यारा र घटना बारे अनुसन्धान गर्न माथिल्लो निकायलाई जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी गराए बमोजिम कर्णाली प्रदेश प्रहरी कार्यालयबाट २ र जुम्लाबाट १ प्रहरी टोली मुगु हिँडेको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button