मुख्यमन्त्रीद्वारा घरपझोङ गाउँपालिकाको भवन उद्घाटन
पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिकाको हालै निर्माण भएको भवन उद्घाटन गरिएको छ । ७ करोड ५९ लाखमा निर्माण भएको उक्त भवनको बिहीबार एक समारोहबिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको हो ।

बिहीबारदेखि मुस्ताङमा सुरु भएको कृषि तथा पर्यटन महोत्सवको समेत उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले नयाँ भवनबाट जनताले अझै सजिलो र सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । मुस्ताङ, मनाङ, उत्तरी गोरखा जस्ता गण्डकी प्रदेश भित्रका हिमाली क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको उहाँको भनाई थियो ।
मुस्ताङ कृषिको क्षेत्रमा पनि सम्भावना बोकेको जिल्ला भएको बताउँदै मुख्यमन्त्री पाण्डेले व्यावसायिक स्याउ खेतीको लागि प्रदेश सरकारले किसानलाई प्रोत्साहन गर्न अनुदान दिने भएकाले सामूहिक खेतीतर्फ लाग्न स्थानीयलाई अनुरोध गर्नुभयो । पछिल्लो समय सामाजिक सद्भाव खलबल्याउने प्रयत्न भइरहेको भन्दै मुख्यमन्त्री पाण्डेले यसतर्फ बेलैमा सचेत हुनुपर्ने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पाण्डे सहित प्रतिनिधि सभा सदस्य योगेश गौचन, प्रदेश सभा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

कृषि तथा पर्यटन मेलामा मुस्ताङ जिल्लामा उत्पादित कृषि उत्पादनको प्रदर्शनी र विक्री स्टल सञ्चालन गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्