तीन दिनपछि शान्त बन्यो नेपालगञ्ज, कर्फ्यु खुकुलो बनाइँदै
नेपालगञ्ज। नेपालगञ्जको अवस्था शान्त बनेको छ । तीन दिन अघि दुई समूहबीच भएको झडपका कारण अशान्त बनेको नेपालगञ्ज शान्त अवस्थामा फर्किएको हो । झडपका कारण धार्मिक तनाव उत्पन्न भई हिंसा भड्किन सक्ने अवस्थालाई मध्यनजर गर्दै बाँके प्रशासनले मङ्गलवार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको थियो ।
नेपालगञ्जको अवस्था सामान्य बनेपछि अब कर्फ्यु आदेश खुकुलो बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार साँझ बसेको सर्वपक्षीय बैठकले नेपालगञ्जको अवस्था सामान्य बन्दै गएपछि कर्फ्यु आदेश खुकुलो बनाउँदै पूर्णरुपमा हटाउनका लागि जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो ।आजदेखि कर्फ्यु खुकुलो बनाइनेछ ।
बैठकले सामाजिक सद्भाव कायम राख्दै अब उप्रान्त सद्भाव भड्किन नदिने प्रतिबद्धता ब्यक्त गरेको छ । यस्तै सबै क्षेत्र, तह र तप्काको उल्लेख्य सहभागिता हुने गरी सद्भाव र्यालीको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो । बैठकले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पुर्याउने व्यक्तिहरूलाई तत्काल कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय छ ।
हिन्दु र मुस्लिम समुदायबीच भएको विवादले मङ्गलवार दिउँसोदेखि अशान्त रहेको नेपालगञ्ज शान्त र सामान्य बन्दै गएको हो । दुई समुदायबीच बढेको तनावले उग्र रूप लिने अवस्था देखिएपछि कर्फ्यु आदेश जारी गरिएको थियो । सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्ट्याटसको विषयलाई लिएर मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् आज ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शन कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भङ्ग हुने स्थिति देखिएकाले कर्फ्यु आदेश जारी गरिएको थियो ।









प्रतिक्रिया राख्नुहोस्