तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले छिट्टै ८ ओटा जहाज किन्दै छ : मन्त्री किराँती

कास्की । नेपाल सरकारले ८ ओटा जहाज खरिद गर्ने तयारी गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बताउनुभएको छ ।

पोखरामा पर्यटन व्यवसायीहरूसँग छलफल गर्दै मन्त्री किराँतीले अन्तर प्रादेशिक उडानका लागि साना ४ ओटा जहाज र साउथ एसियन देशका उडानको लागि न्यारो बडी ४ ओटा जहाज किन्ने तयारी गरेको बताउनुभयो । पर्यटन विकास तथा दूर दराजका मानिसहरूको सहजताका लागि जहाज आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले पोखराका होटलमा स्थानीय खानाको मेनु राख्नु व्यवसायीहरूलाई सुझाव पनि दिनुभयो । रैथाने खानाहरूको मेनु राखे मात्र पर्यटक आर्कषण हुने उहाँको भनाइ छ । होटलमा स्थानीय कला संस्कृति झल्कने सामाग्री समेत राख्न उहाँको सुझाव छ ।

छलफलमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भारतीय ठुला नोटहरू बजारमा चल्न नसक्दा समस्या परेको बताउनुभयो । उहाँले छिटै नै पोखरा मुग्लिङ सडकखण्ड, पोखरा भैरहवा सडक खण्डलाई सहज रुपमा यातायात सञ्चालनका लागि सहयोगको अपिल गर्नुभयो ।

पर्यटन व्यवसायी वासु त्रिपाठीले सरकारले पर्यटन ऐनमा समावेश गरेका केही बुँदामा पर्यटन व्यवसायीहरूको आपत्ति रहेको बताउनुभयो । तत्काल पर्यटन ऐन संशोधन गर्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

‘जात्राहरूलाई ब्राण्डीङ गरौँ’
मन्त्री सुदन किरातीले कला संस्कृतिमा धनी देश इन्द्रेणीका जस्ता हाम्रा परम्परालाई ब्राण्डीङ गर्नुपर्ने बताउनुभयो । मौसम अनुसारका हाम्रा जात्राहरू विदेशी पर्यटक आर्कषण गर्ने मुख्य केन्द्र रहेको बताउनुभयो ।

जात्राहरूको ब्रान्डिङ नहुँदा पर्यटकहरूसम्म पुग्न नसकिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button