शिक्षाको सुधार विना विकास कठिन : सभामुख मण्डल
जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेशको शिक्षाको अवस्थामा सुधार गर्न आवश्यक भएको बताउनुभएको छ ।

एन प्याब्सन धनुषाको ९ औँ जिल्ला अधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै उहाँले विगत केही समय यता मधेशको शिक्षा निरन्तर रुपमा ओरालो लाग्नु चिन्ताको विषय भएको बताउँदै शिक्षामा सुधार गर्नका लागि नीजि विद्यालयहरूले ध्यान दिन आवश्यक भएको बताउनुभयो ।
उहाँले शिक्षा सम्बन्धी विधेयक आउँदा सबैको हित तथा शिक्षाको गुणस्तरमा सुधार हुने किसिमले आउनुपर्ने धारणा राख्दै शिक्षाको विकास विना मुलुकको विकास तथा समृद्धिको यात्रा कठिन हुने बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले शिक्षाको विकास तथा सुधार विना मुलुकको कुनै क्षेत्रको विकास गर्न कठिन हुने बताउँदै जनकपुरधाम उपमहानगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
एन प्याब्सनका सह अध्यक्ष शुभास न्यौपानेले संस्थागत विद्यालयहरू सरकारी निर्देशनको पालना गर्न तयार भए पनि संस्थागत विद्यालय नै समाप्त गर्ने गरी आइरहेको संघीय शिक्षा सम्बन्धी ऐन पालना गर्न नसकिने बताउनुभयो ।
एन प्याब्सन मधेश प्रदेशका अध्यक्ष डा. नन्दन यादवले आउन लागेको संघीय शिक्षा ऐन वर्तमान अवस्थामा आफूहरूले स्वीकार गर्न नसक्ने भएकाले यसको विरोध गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्