वर्तमान सरकारप्रति जनताको आशा छ :पूर्व सभामुख सापकोटा
कीर्तिपुर।प्रतिनिधिसभाका पूर्व सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान सरकारप्रति जनताको आशा पलाएको बताउनुभएको छ ।
आइतबार यहाँस्थित ‘जनतासँग माओवादीको विशेष रूपान्तरण अभियान’ विषयमा कीर्तिपुर नगरपालिकाको बैठकमा उहाँले सो धारणा राख्नुभएको हो ।
उहाँले विकास, समृद्ध, सुशासन, सामाजिक न्यायको लागि अगाडि बढिरहेको अवस्थामा कृषिको यान्त्रिकीकरण, आधुनिकीकरण, औद्योगिकीकरण र बजारीकरणलाई बढावा दिन आवश्यकतामा जोड दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपाध्यक्ष समेत रहनुभएकाले सरकारले एकपछि अर्को राम्रा कामहरूको थालनी गरेकाले जनता उत्साहित भएको बताउनुभयो ।

‘सरकारले धेरै राम्रा काम गरिरहेको छ, जनताको मन जित्न सक्यो भने सबै आन्दोलनका उपलब्धिहरू संस्थागत गर्न सकिन्छ ’ उहाँले भन्नुभयो, जनताका चित्त दुखाउनु हुन्न भन्ने हाम्रो सङ्कल्प रहेको छ ।’
नेपालमा अहिले ‘शीतयुद्ध’ घनिभूत रुपमा चलिरहेको बताउनुहुँदै उहाँले आउँदा दिनहरूमा विभिन्न खालका तुफान आउन सक्ने सङ्केत गर्नुभयो ।
उपाध्यक्ष सापकोटाले सरकार र पार्टीविरुद्ध विभिन्न प्रकारका षड्यन्त्र भइरहेको जनाउनुहुँदै राष्ट्रियताको लागि लड्न आफ्नै जगमा उभिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले विगतमा लडेको जनयुद्धमा भन्दा पृथक् रुपमा अहिलेको सूचना प्रविधि र सामाजिक सञ्जाललाई भरपुर प्रयोग शान्तिपूर्ण रुपमा अभियानलाई सशक्त पार्न आवश्यकतामा जोड दिनुभयो ।

कीर्तिपुरमा २२ वर्षपछि आएको बताउनुहुँदै पूर्व अध्यक्ष सापकोटाले यस क्षेत्रको वृहत् विकास योजना गर्न सकिने धारणा राख्नुभयो ।
नगरको विस्तारित बैठकमा केन्द्रीय अनुशासन विभागका सदस्य ओपेन्द्र शर्माले हालै बसेको केन्द्रीय समितिको बैठकको सर्कुलर वाचन गर्नुभएको थियो ।
नगरका १० वटा अध्यक्षले रिपोर्टिङ गरिएको सो बैठकका सभापति दिलबहादुर महर्जन र नगर सचिव दयालक्ष्मी महर्जन सञ्चालन गर्नुभएको ।








प्रतिक्रिया राख्नुहोस्