तपाईँ सुन्दै हुनुहुन्छः

‘सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता’

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारको स्थायित्वका विषयमा शङ्का गर्ने कुनै ठाउँ नरहेको बताउनुभएको छ ।

नेपाल टेलरिङ व्यवसायी महासङ्घको आज यहाँ आयोजित राष्ट्रिय महाधिवेशनमा उहाँले वर्तमान सरकार नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउँदै सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा जनताको पूर्ण समर्थन पाइरहेकाले स्थायित्वमा कुनै शङ्का नगर्न सुझाव दिनुभयो ।

file photo

उपप्रधानमन्त्री खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै आर्थिक सुधारको दिशामा अघि बढेको स्पष्ट पार्नुभयो । उहाँले नेपालमा टेलरिङ व्यवसाय प्राचीन कालदेखि नै मर्यादित र विशिष्ट व्यवसायका रुपमा परिचित रहेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री खड्काले टेलरिङ व्यवसायमा संलग्न व्यक्तिलाई मौलिक व्यावसायिकता र विश्वास कायम राखेर सङ्गठन विस्तारमा ध्यान पुर्‍याउन सुझाव दिनुभयो ।

भ्रष्टाचार, बेथिति लगायत मुलुकको अप्ठेरो परिस्थितिलाई सुधार गर्दै सरकार अघि बढिरहेको बताउँदै उहाँले सुशासन कायम गरी आर्थिक स्थितिमा सुधार ल्याउन सरकार दृढ रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्यले मुलुकको पहिचान बोकेको तथा परम्परालाई जोगाउन योगदान पुर्‍याउँदै आएको टेलरिङ व्यवसायले व्यक्ति विशेषको व्यक्तित्व झल्काउने र पहिचान दिलाउन मद्दत पुर्‍याएको बताउनुभयो ।

समारोहमा मुलुकमा व्यावसायिक रुपमा टेलरिङ स्थापना गर्दै विभिन्न शाखा खोलेर ठूलो सङ्ख्यामा रोजगारीसमेत प्रदान गर्ने अग्रज एवं बागबजारस्थित श्रेष्ठ टेलरिङका संस्थापक बाबुकाजी श्रेष्ठलाई सम्मान गरियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button