तिला गाउँपालिकाको भौतिक प्रगति ९६ प्रतिशत
जुम्ला।जुम्लाको तिला गाउँपालिकाको भौतिक प्रगति ९६ प्रतिशत भएको छ । गत आव २०७९/८० मा तिलाको भौतिक प्रगति ९६ प्रतिशत भएको हो । संघ प्रदेश तथा पालिकाको आफ्नै लगानी र विभिन्न चार वटा अनुदानका शिर्षककबाट गत आवमा कुल १ सय ६७ वटा योजना छनोट गरिएको थियो ।
जसमा असार मसान्तसम्म १ सय ६० वटा योजनाको निर्माण सम्पन्न भई अन्तिम भुक्तानी भएको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर बिष्टले बताउनुभयो । उहाँका अनुसार कुल योजना १ सय ६७ मध्य १६५ योजनाको सम्झौता भएकोमा १६१ वटा सम्पन्न भई भुक्तानी भएका छन् । भने ४ वटा योजना सम्पन्न हुन नसकेको र २ वटा योजना सम्झौतानै नभएको प्रमुख प्रशासकीय अधिकृत विष्टले जानकारी दिनुभयो ।
यसैबीच तिलाको गत आर्थिक वर्षको कुल बजेटको ७४.४७ प्रतिशत बजेट मात्रै खर्च भएको छ । गत आव ०७९/८० मा तिलामा पुँजीगत तथा चालू तर्फ गरि कुल ५९ करोड ८७ लाख ३० हजार विनियोजन भएकोमा ४३ करोड ९८ लाख ७९ हजार ५८४ रुपैयाँ खर्च भएको तिलाका लेखा अधिकृत लालचन्द्र बुढाले बताउनुभयो ।
उहाँका अनुसार पुँजीगत तर्फ विनियोजित २७ करोड ८ लाख १५ हजार मध्य १५ करोड २४ लाख ४१ हजार ७६३ रुपैयाँ अर्थात् ५६.२८ प्रतिशत पुँजीगत खर्च भएको छ । भने चालू तर्फ विनियोजित ३२ करोड ७९ लाख ५ हजारमध्ये २८ करोड ७९ लाख ६६ हजार १७१ अर्थात् ८७.८२ प्रतिशत चालू खर्च भएको छ ।
कुल बजेटको १५ करोड ८८ लाख ४० हजार ४१६ रुपैयाँ बजेट खर्च हुन नसकेर फिर्ता भएको छ । भने पुँजीगत तर्फको २७ करोड ८ लाख १५ हजारमध्ये ११ करोड ८३ लाख ७३ हजार २३७ रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको छ ।बिहीबार पालिकामा आयोजित गत आव ०७९÷८० को सार्वजनिक सुनुवाइ कार्यक्रममा उल्लेखित भौतिक तथा वित्तीय प्रगति सार्वजनिक गरिएको हो । तिलाका ९ वटा वडाले गत वर्षमा १५ लाख ६० हजार ६१ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
भने,मुख्यमन्त्री रोजगार अन्तर्गत ९ वटा,प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १३ वटा,गाउँपालिकाबाट ११ वटा,सङ्घीय विशेष तथा समपूरक अनुदानबाट १० वटा प्रदेशको अनुदानबाट ४ वटा योजना निर्माण सम्पन्न भएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।सार्वजनिक सुनुवाइमा स्थानीय समिर बोहोरा,आदीचन्द्र चौलागाई,राम रावत,धिरेन्द्र बहादुर रोकाया र दिप बहादुर बोहोराले असारे विकासको अन्त्य गर्नु पर्ने,आवश्यकतामा बजेट विनियोजन हुनु पर्ने,फ्रिज हुने बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने,बेरुजु अन्त्य हुनु पर्ने,सेवा प्रवाह चुस्त हुनु पर्ने,सामाजिक विकासमा लगानी बढाउनु पर्ने,विकासलाई गुणस्तर बनाउनु पर्ने लगायतका सुझाव राखेका छन् ।
तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले समृद्ध तिला बनाउन प्राप्त सुझावको कार्यान्वयन तथा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने बताउनुभयो । उहाँले भन्नुभयो,“तिला उत्पादनमा आत्मनिर्भर पालिका हो । हामीले उत्पादनका आधारमा वडालाई पकेट क्षेत्र निर्धारण गरेका छौ । आवश्यकतामुखी विकास अबको प्रथामिकतामा छ । सेवालाई चुस्त बनाउन उतिकै जरुरी छ । समृद्ध तिला बनाउन सबैको साथ सहयोगको जरुरत छ ।”
आर्थिक सुशासन,नागरिकका गुनासो सुनुवाई,भ्रष्टाचार निवारण,गुणस्तर विकास छिटो छरितो सेवा प्रवाहमा आगामी जोड दिइने उनको भनाई छ । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख नरविर सुनारले स्थानीय सरकारले जनअपेक्षाअनुसार काम गर्नु पर्ने सुझाव दिनुभयो । स्थानीय तह प्रति असन्तुष्टि बढ्दो क्रममा रहेकोले सेवा प्रवाह विकासलाई चुस्त तथा पारर्दशि बनाउनु पर्नेमा समेत जोड दिनुभयो ।
दीर्घकालीन फाइदा हुने योजना निर्माण,आर्थिक पारदर्शिता,तथा नागरिक सन्तुष्टि हुने गरि सेवा प्रवाह गर्न जरुरी रहेको उहाँको भनाई छ । उद्यमशीलता विकास र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न कन्जुसाई नगर्न आग्रह गर्नुभयो ।तिलाकी उपाध्यक्ष गोरीकला बुढाले महिला सशक्तीकरण,उद्यमशीलता विकास,रोजगारी सृजना लगायतका विषयमा तिलाले लगानी बढाउने बताउनुभयो । तिलाकी निवर्तमान उपाध्यक्ष विष्णुमाया बुढा,दलहरूका प्रतिनिधिहरूले समृद्ध तिला बनाउन सबैको सहयोग समन्वय तथा सहकार्य गर्नु पर्नेमा जोड दिएका थिए ।








प्रतिक्रिया राख्नुहोस्