तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यजन्य फोहोरमाथि नेपालगञ्ज उपमहानगरपालिकाको निगरानी

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्यजन्य फोहोरमाथि निगरानी बढाएको छ । 

उपमहानगरपालिकाले नगरमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा लापरबाही देखिएपछि निगरानी बढाइएको हो । 

नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले सडकमा स्वास्थ्यजन्य फोहरसँगै सरसफाइको अवस्थाबारे अनुगमन गर्नुभएको छ ।

“स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा मेडिकलहरूले लापरबाही गरिरहेको पाएपछि हामीले निगरानी बढाएका छौँ, स्वास्थ्यजन्य फोहर प्रशोधन केन्द्र नै सञ्चालन गरेर दैनिकरुपमा फोहर सङ्कलन भइरहँदा पनि लापरबाही गर्ने छुट कसैलाई छैन, भेरी अस्पताल अगाडि भेटिनुभएका विष्टले भन्नुभयो–“स्वच्छ, सफा र हरित नगर बनाउने अभियानका लागि हामी गम्भीर ढंगले लागेका छौँ, सरोकारवाला सँगसँगै हरेक नागरिकले आफ्नो व्यवहार परिवर्तन गर्न जरुरी छ ।”

सरसफाई फाँट हेरिरहेका कर्मचारी र सरसफाइकर्मीलाई खटनपटन गराउने टिम लिडरहरूलाई स्पष्ट निर्देशन दिँदै उहाँले काममा कुनै कम्प्रमाइज नहुने बताउनुभयो । 

“शतप्रतिशत काम चाहिन्छ, टालटुले हिसाबले हुँदैन, राम्रोसँग काम नगर्नेहरूलाई तुरुन्त फायर गर्नुस्, काममा कुनै कम्प्रमाइज हुँदैन, नगर सफा देखिनुपर्दछ,” विष्टले भन्नुभयो । 

नेपालगञ्ज उपमहानगरपालिकाले सरसफाइका लागि थुप्रो धनराशी खर्च गरिरहेको बताउँदै उहाँले सहर सफा देखिने गरी काम गर्न निर्देशन दिनुभयो । नगर प्रमुख विष्टले सरसफाइको अवस्था हेर्न निरन्तर अनुगमन गरिने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले स्वयं नागरिकमा इमानदारिता, जागरूकता र जिम्मेवारीपन भए सफा र स्वच्छ नगर बनाउने उपमहानगरपालिकाको अभियान छिट्टै सार्थक हुने बताउनुभयो । 

नगरको सुन्दरता र स्वास्थ्यसँग जोडिएको संवेदनशील विषय भएकाले सबैको साझा प्रयासबाट स्वच्छ र सफा सहर निर्माणमा टेवा पुग्ने रिजालको विश्वास छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button