रासायनिक मल किनेर बेच्ने निजी पसललाई दुई लाख रुपैयाँ जरिवाना

इलाम । इलाममा सहकारी मार्फत् किसानलाई बाँड्नुपर्ने रासायनिक मल किनेर बेच्ने निजी पसललाई २ लाख रुपैयाँ जरिवाना भएको छ । जिल्ला प्रशासन कार्यालयले इलाम नगरपालिका–७, को कृषि बिज भण्डारलाई सहकारीबाट विक्रीका लागि मल लिएको पुष्टि भएपछि जरिमाना गराएको हो । भेषराज पराजुलीले सञ्चालन गरेको पसलमा केही दिनअघिको अनुगमनमा ३४ बोरा युरिया र १८ बोरा डिएपी मल भेटिएको थियो । पसल सञ्चालकले झापाबाट मल ल्याएर बेच्न लागेको जबाफ दिए पनि उनीसँग त्यससम्बन्धी कुनै पनि बिल/ बिजक नभएपछि छानबिन गरिएको थियो। सरकारले सहकारीमार्फत किसानलाई वितरण गर्न लागेको मल सहकारीबाट विक्रेताले लिएको छानबिनमा खुलेको हो।
अनुगमनमा कागजात नभएको पाएपछि तीन दिनमा कागजात पेस गर्नु भने पनि तीन दिनभित्रमा कागजात बुझाउन दिइएको म्याद सकिँदा पसलले मलको अनधिकारिकताबारे कुनै प्रमाण दिन नसकेपछि सहकारीबाटै मल लिएको पुष्टि भएको सिडिओ श्रवणकुमार पोख्रेलले बताएउनुभयाे । पसलमा भेटिएको ५२ बोरा मल प्रशासनले जफत गरी इलाम नगरपालिकालाई बुझाएको छ । अनुगमन टोलीले जिज्ञासा राख्दा सहकारीले केही दिन भण्डारणका लागि त्यहाँ राखिएको जबाफ दिएको थियो। तर, बिज भण्डारका पसलेले भने प्रशासनलाई आफूले यो मल झापाबाट ल्याएर बेच्नलाई राखेको बताएपछि सहकारीको मल निजी पसलमा विक्रीका लागि राखेको आशङ्का गरिएको थियो ।
मल जफत गरिएको पसलमा अवैध रूपमा आयातित थप २ बोरा भारतीय मलसमेत भेटिएको छ । सिडिओ पोख्रेलले अहिले ५२ बोरा मलको हकमा मात्रै प्रशासनले जरिमाना गराएको बताए । पोख्रेलका अनुसार ‘पसलले गरेको मलको थप कारोबार र अनुदानको मल सहकारीबाट कसरी निजी पसलसम्म मल पुग्यो भन्नेबारे छानबिन हुनेछ, ‘छानबिनपछि कारबाहीको प्रक्रिया अघि बढ्छ ।








प्रतिक्रिया राख्नुहोस्