बर्दघाटको बजेट ९० करोड बढी: शिक्षामा जोड
नवलपरासी । पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ९० करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ ।
बुधबार बर्दघाट नगरपालिकाको १२ औँ नगरसभामा नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले ९० करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो। नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
कुल बजेटको ३०.०४ प्रतिशत शिक्षामा छुट्टाइएको छ जसमा विपन्न दलित समुदायका र सबै विद्यार्थीलाई नि शुल्क पाठ्यपुस्तकको उपलब्धता,नगरप्रमुख छात्रवृत्ति कोष ,विद्यालयको भौतिक संरचना,खानेपानी ,सरसफाई,प्रविधिमैत्री विद्यालय जस्ता योजना समावेश रहेका छन् ।त्यसै गरी ३ लाख भन्दा माथिका सडक निर्माणका आयोजनामा २ प्रतिशत रकम हरियाली प्रवर्द्धनका लागि छुट्ट्याइने नगरको बजेट मा उल्लेख गरिएको छ ।
सडक सञ्जाल स्तरोन्न्तीमा १३.६२ प्रतिशत रकम बिनियोजन गरिएको छ ।नगरले अघि सारेको एक घर एक धारा अन्तर्गत नागरिकलाई शुद्ध पानी खुवाउनका लागि ६० लाख बजेट बिनियोजन भएको छ ।
कुल ९० करोड ५० लाख को बजेटमा ५६ करोड ४२ लाख अर्थात् ६२.३५ प्रतिशत चालु खर्च र ३४ करोड ६ लाख ५६ हजार अर्थात् ३७.६४ प्रतिशत पुँजीगत बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाले विनियोजन गरेको ९० करोड ५० लाखको बजेटमा सामाजिक सुरक्षा भत्ता भने नसमेटिएको नगरपालिकाले जनाएको छ ।
उक्त बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरण, समपूरक अनुदान, विशेष अनुदान, राजश्व बाँडफाँड र सशर्त अनुदान समेत समावेश भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले शिक्षा क्षेत्रको लागि कुल बजेटको ३०.०४ प्रतिशत अर्थात् २७ करोड १९ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै नगरपालिकाले सडक विकास, विस्तार तथा स्तरउन्नतिको लागि कुल बजेटको १३.६२ प्रतिशत अर्थात् १२ करोड ३३ लाख ४० हजार रुपैयाँ विनियोजन गरेको छ । कृषि, सिँचाई र पशु विकास प्रवर्द्धनको लागि कुल बजेटको ७.२४ प्रतिशत अर्थात् ६ करोड ५५ लाख ७९ हजार विनियोजन गरिएको छ ।
नगरपालिकाले भवन तथा शहरी विकास, खानेपानी तथा सरसफाई, सूचना तथा सञ्चार, पर्यटन, विद्युत् तथा वैकल्पिक ऊर्जा, स्वास्थ्य तथा पोषण, युवा तथा खेलकुद, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, भाषा, कला तथा संस्कृति, वन तथा वातावरण विपद् व्यवस्थापन, श्रम तथा रोजगार, संस्थागत विकास तथा सेवा प्रवाह को क्षेत्रमा बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले उद्योग ग्रामको स्थापना र कृषि क्षेत्रलाई समेत प्राथमिकतामा राखेको छ भने सडक सञ्जालको स्तरोन्नतिका योजनाहरू समेत अघि बढाउने उल्लेख गरिएको छ ।नगरले आर्थिक सुचाङ्क हरुको सर्वेक्षण समेत गरेको छ ।सो सर्वेक्षण देशभरका स्थानीय तहहरू मध्ये बर्दघाट नगरपालिका पहिलो रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाको दाबी छ ।
चालू आर्थिक वर्ष २०७९/८० को लागि भने नगरपालिकाले ९४ करोड ५ लाख ४३ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
नागरिकको सहयोग र साझेदारीमै बजेट पूर्ण कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।कर्मचारी,जनप्रतिनिधि,नागरिक हरुको सहकार्यमा मात्र बजेट पूर्ण कार्यान्वयन गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटा ले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्