तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिन नेपाल प्रतिबद्ध छ : अध्यक्ष तिमिल्सिना 

पाँचौँ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पो शुरु

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्‍याउनुभएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित पाँचौँ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग रहेका कारण आफ्नो भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिविधिका लागि प्रयोग हुन नदिन प्रतिबद्ध रहेको दोहोर्‍याउनुभयो  । 

‘विश्व शक्तिको रूपमा उदाएको चीनले भौगोलिक र सामरिक हिसाबले सानो छिमेकी मुलुक नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्दै आएको छ ।, नेपाल पनि सधैँ एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग छ र आफ्नो भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिविधिका लागि प्रयोग हुन नदिन प्रतिबद्ध छ ।’, उहाँले भन्नुभयो ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आदर्शहरूमा दुवै देशको अटल विश्वास छ ।’ 

एक हजार चार सय किलोमिटर लामो सीमाना जोडिएका चीन र नेपाल दुई छिमेकी देशहरू एक अर्काको स्वाभिमान, अस्तित्व र अखण्डताको सधैँ सम्मान गर्दै आएको उहाँको भनाई थियो । 

विश्व व्यवस्थालाई न्यायोचित, समावेशी, निष्पक्ष र नियममा आधारित बनाउन, आर्थिक विश्वव्यापीकरण र बहुपक्षीयतालाई प्रबद्र्धन गर्न र गरिबी निवारणमा चीनले हासिल गरेको उपलब्धी विश्वका लागि एक अनुपम उदाहरण बनेको चर्चा गर्दै अध्यक्ष तिमिल्सनाले  विकासोन्मुख र अतिकम विकसित मुलुकहरूको हित प्रवद्र्धनार्थ चीनले खेल्दै आएको नेतृत्वदायी भूमिकाको सह्राना पनि गर्नुभयो । 

उहाँले नेपाल र तिब्बत बीच ऐतिहासिक समयदेखि चलिआएका व्यापार र लगानी नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका आधारभूत खम्बा भएको बताउनुभयो ।  

कोभिड महामारीका समयमा नेपाल र चीन बीचको व्यापार र लगानीका गतिविधिहरू प्रभावित भएको तथा अहिले तीन वटा नाकाहरू खुला भएकाले यसले व्यापार र लगानीमा प्रवर्द्धन गर्ने विश्वास ब्यक्त गर्नुभयो । 

अध्यक्ष तिमिल्सिनाले मुस्ताङ र तिब्बतको ढोङवासेन जिल्लाको सिमानामा पर्ने कोरल्ला नाकालाई छिटो सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको उत्तरमा तिब्बत र दक्षिणमा भारत जोड्ने कालीगण्डकी करिडोर निर्माण अन्तिम चरणमा छ पुगेको कारण नाका सञ्चालन गर्दा कालीगण्डकी करिडोर हुँदै मानसरोवर यात्रा समेत छोटो र सहज हुने भएकाले भन्सार नाका जति सक्दो छिटो सञ्चालनमा ल्याउन आवश्यक भएको बताउनुभयो । 

कोराला नाकामा तिब्बततर्फ भन्सार पूर्वाधारको निर्माण कार्य तीव्र रुपमा अगाडी बढिरहेको छ तर नेपालतर्फ भन्सार पूर्वाधारको निर्माण कार्य शुरु गर्न नसकिएको अवस्थामा नेपालतर्फ भन्सार पूर्वाधार बनाउन तिब्बत सरकारको सहयोगको अपेक्षा गरेको पनि बताउनुभयो । 

नेपालको मुस्ताङ जिल्ला र तिब्बतको ढोङवासेन जिल्लाको सिमानामा हरेक वर्ष जुन र सेप्टेम्बर महिनामा लाग्दै आएको नेचुङ (लिक्ची) मेला रोकिएको हुँदा मेला सुचारु गर्न पनि आग्रह गर्नुभयो ।  कोभिड महामारीको समयमा रोकिएको मेला शुरु नहुँदा च्याङ्ग्रा, पस्मिना, नुन, लत्ताकपडा, खाद्यान्न लगायतका बस्तुको आयात निर्यात ठप्प भएको र यसले नेपालको उपल्लो मुस्ताङका बासिन्दा प्रभावित भएको जानकारी गराउनुभएको थियो । 

उहाँले नेपालबाट तिब्बततर्फ निकासी हुने जनवारको आहारमा प्रयोग हुने तयारी घाँस तथा  फलफूल, तरकारी र जडीबुटी जस्ता कृषिजन्य उत्पादनको निकासीमा तिब्बत सरकारले भन्सार प्रक्रिया सहजीकरण गर्दा दुई देशबीचको व्यापार असन्तुलन घट्ने विश्वास पनि ब्यक्त गर्नुभयो । 

काठमाडौँदेखि ल्हासा, पोखरा र भैरहवा  सीधा उडान सुचारु गर्दै कैलाश मानसरोवर यात्रा अनुमतिको प्रक्रियामा सहजीकरण भएमा दुवै देशमा पर्यटकीय गतिविधिहरू बढ्ने भन्दै उहाँले तिब्बत सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button