गलेश्वर मन्दिरमा एक महिनामा करिब साढे ६ लाख भेटी सङ्कलन

म्याग्दी । बेनी नगरपालिका – ८ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा एक महिनामा ६ लाख ४४ हजार ६८७ रुपैयाँ भेटी सङ्कलन भएको छ।
गलेश्वर शिवालयको दर्शन र पूजाआजा गर्न आएका भक्तजनबाट सो रकम सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो ।
वैशाख २० गतेदेखि जेठ २२ गतेसम्म गलेश्वर मन्दिरमा दर्शन आएका भक्तजनले चढाएको भेटिलाई सोमबार कोषका समिति, कर्मचारी, गलेश्वर बजारबासी, आमा समूह सशस्त्र प्रहरीको उपस्थितमा सो रकम गनिएको कोषले जनाएको छ।
भक्तजनले गलेश्वरधामको मुल मन्दिर, शिव, गणेश, लक्ष्मीनारायण मन्दिर, जलकुण्ड, होमनकुण्ड, हनुमानको मूर्तिलगायत विभिन्न स्थानमा धार्मिक भक्तजनले दर्शन गर्दा चढाएको भेटीलाई कोषले गनेको थियो ।
मन्दिरमा दर्शन गर्न आउने भक्तजनले चढाएको भेटीमार्फत मन्दिरको कोषमा हालसम्म ३ करोड ८५ लाख रुपैयाँ सङ्कलन भएको सदस्य सचिव खत्रीले जानकारी दिनुभयो ।
कालीगण्डकी नदीको शिला अयोध्या लगेपछि प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा पछिल्लो समय भारतीय धार्मिक पर्यटक बढेका छन् । विश्वकै दुर्लभ शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी नदीको दुई थान शिला हिन्दुहरूको धार्मिक स्थल भारतको अयोध्या लगेपछि प्रसिद्ध धार्मिकस्थल गलेश्वर धाम मन्दिरमा दर्शन गर्ने भारतीय पर्यटकको सङ्ख्या बढेका सदस्य सचिव खत्रीले बताउनुभयो । उहाँले भारतीय धार्मिक पर्यटकमार्फत मन्दिरमा चढाएको भेटी एक महिनामा ३० हजार आईसी सङ्कलन भएको बताउनुभयो ।
बेनी नगरपालिका–६ ठूलो पहिरो स्थित पवित्र कालीगण्डकीको शिला गत वर्षको माघ १२ गते गलेश्वर मन्दिरबाट पूजाआजा गरेर लगेपछि दर्शन गर्ने भारतीय धार्मिक पर्यटक सङ्ख्यामा वृद्धि आएको छ।
शिला हस्तान्तरणले गलेश्वर मन्दिरको महत्त्व थप बलियो बनाउँदै धार्मिक पर्यटन वृद्धिमा सहयोग पुगेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।
मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको गलेश्वरधाम हिन्दु धर्मावलम्वीहरुको प्रसिद्ध तीर्थस्थल मानिन्छ । धार्मिक, ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्त्वपूर्ण मानिएको गलेश्वरधाम रघुगंगा नदी र कालीगण्डकीको पवित्र संगममा ८ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित छ ।
पूर्वमा कृष्णागण्डकी, गायत्री मन्दिर, पश्चिम कालान्जरवन, पुलहाश्रम, उत्तरमा सप्त ऋषिहरूको तपोभूमि रिखार, धवलागिरि हिमशृङ्खला र मुक्तिनाथ, दक्षिण म्याग्दी सदरमुकाम बेनी बजार र म्याग्दी नदी रहेका छन् ।
बेनी बजारबाट तीन कि. मि. उत्तरतर्फ पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ रहेको छ । गलेश्वरधामको दर्शन र पूजाआजा गरेमा सुख, शान्ति र समृद्धि हुने जनविश्वास छ । पछिल्लो समय गलेश्वर मन्दिर दर्शन गर्ने धार्मिक पर्यटकको वृद्धिले भेटी सङ्कलनमा वृद्धि गरेको छ।








प्रतिक्रिया राख्नुहोस्