स्याउ बगैँचामा असिना र झुसिल किराको प्रकोप, किसान चिन्तित
जुम्ला । तातोपानी गाउँपालिका १ स्थित तरापीमा रहेको स्याउ बगैँचामा असिना पानी र किराको प्रकोपले स्याउ बगैँचा सखाप भएका छन् ।

फूल फुलेर फल लाग्ने बेलामा आएको असिना र झुसिल किराको प्रकोपले सिङ्गो गाउँकै स्याउ बगैँचा सखाप भएको हो ।
तातोपानी १ राँका गाउँका करिब ४ सय घरधुरी स्याउ खेतीमै निर्भर रहेका छन् । एक घर, एक बगैँचा समेत भएको राँका गाउँका किसान असिना र किराको प्रकोपले यसवर्ष स्याउ उत्पादन घट्ने चिन्तामा छन् ।

गत वर्ष तरापी क्षेत्रको स्याउ बगैँचाबाट मात्रै राँका गाउँका किसानले करिब ४० मेट्रिक टन स्याउ उत्पादन गरेका थिए । यस वर्ष झण्डै ६० मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान थियो । सोही अनुसार किसानले मेहनत पनि गरेका थिए । तर वैशाख १६ गते आएको भारी असिना र झुसिल किराको प्रकोपले बगैँचा नै सखाप भएपछि विगतको भन्दा पनि यस वर्ष उत्पादन दोब्बरले घट्ने युवा किसान डिल कठायतले बताउनुभयो ।
तातोपानी १ को तरापी क्षेत्रको करिब ७० देखि ८० हेक्टरमा स्याउ खेती भइरहेको छ । जसको ७० प्रतिशत बगैँचामा किराको प्रकोप फैलिएको कृषि शाखाले जनाएको छ
तरापी क्षेत्रको स्याउ बगैँचामा भएको प्रकोप र असिना पानीले पुर्याएको क्षतिबाट किसानले बेहोर्नुपरेको घाटाप्रति गाउँपालिका निकै दुखी भएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले बताउनुभयो । उहाँका अनुसार प्रकोप नियन्त्रण तथा क्षतिको राहतका लागि पालिकाले सम्बन्धित निकायमा पहल गर्ने छ ।








प्रतिक्रिया राख्नुहोस्