मुलुकमा राजनीतिक अस्थिरता फैलाउने प्रयास भइरहेको छ : मन्त्री साउद
धनगढी । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले मुलुकमा राजनीतिक अस्थिरता फैलाउने प्रयास भइरहेको बताउनु भएको छ ।
धनगढीमा आज कैलाली उद्योग वाणिज्य सङ्घको ज्ञापनपत्र बुझ्नुहुँदै मन्त्री साउदले एकथरी मान्छेले निराशाको दुरुपयोग गरेर अस्थिरता फैलाउन खोजिरहेका बताउनुभयो ।
मुलुकको अर्थतन्त्र सरकारको नियन्त्रणमा रहेको उल्लेख गर्दै मन्त्री साउदले आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले गौरीफन्टा नाकाको स्तरोन्नतिका लागि छिमेकी मुलुक भारतसँग कूटनीतिक तवरबाट छलफल अघि बढाउने बताउनुभयो । सङ्घले अघि सारेका मागप्रति आफू सकारात्मक रहेको उहाँले बताउनुभयो ।
त्यस क्रममा परराष्ट्रमन्त्री साउदलाई कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाउनुभएको थियो ।
आजै नेपाली कांग्रेस कैलालीद्वारा धनगढीमा आयोजित नेता कार्यकर्ता भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिमको विकास र समृद्धिसँग जोडिएको टिङ्कर नाका सञ्चालन, उत्तर–दक्षिण जोड्ने सडक सञ्जाल विस्तारका लागि सरकार लागिपरेको बताउनुभयो ।
उहाँले टिङ्कर नाका सञ्चालन आएमा मानसरोवरसम्म सहज पहुँच हुने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री साउदले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न नेताकार्यकर्तालाई निर्देशन दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्